काठमाडौं- सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतमै महिलामाथि विभेद भएको टिप्पणी गरेकी छिन्।
सर्वोच्च अदालतमा बस्दै आएको संवैधानिक इजलासमा एक जना पनि महिला न्यायाधीश नभएको भन्दै न्यायाधीश मल्लले यस्तो प्रश्न उठाएकी हुन्। उनले संवैधानिक इजलासमा महिला न्यायाधीशलाई ल्याउने तयारीसमेत नरहेको भन्दै न्यायालयको सर्वोच्च स्थानमा समेत महिलामाथि विभेद भएको टिप्पणी गरिन्।
संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीशको संयुक्त इजलास बस्ने गरेको छ। हाल संवैधानिक इजलाशमा प्रधानन्यायाधीश गोपाल पराजुली न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र सम्सेर राणा र दीपक कार्की सदस्य छन्।
नेपाल बार एसोसिएसनले १०८औं नारी दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजना गरेको 'महिलाको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपलब्धि र चुनौती' विषयक छलफलमा न्यायाधीश मल्लले यस्तो आरोप लगाएकी हुन्।
संवैधानिक मात्रै नभएर प्रादेशिक स्तरमा हुने मुख्य न्यायाधिवक्तामा समेत एक जना पनि महिला नपर्नु विडम्बना रहेको न्यायाधीश मल्लले बताइन्। न्यायाधीश मल्लले प्रत्येक व्यक्तिको फरक क्षमता भएकाले त्यसलाई कमजोरीका रुपमा नलिन आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।