काठमाडौं– राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले ३२ वर्ष अगाडि खरिद गरेको बोइङको बिक्री प्रक्रियामा शंका सुरुभएको छ। निगमले असार ११ गते पहिलो पटक ४५ दिनको समयसीमा राखेर बोइङ बिक्रीका लागि ग्लोबल टेन्डर गरेको थियो।
पहिलो पटकको सूचनामा दुईवटा कम्पनीको मात्रै आवेदन परेपछि निगमले पुनः दोस्रो पटक टेन्डरको समय थप गरेको थियो। दोस्रो पटकको समय थपमा विमान खरिदका लागि कुनै पनि कम्पनीको आवेदन परेको थिएन। निगमले पहिलो पटक ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात् ८७ करोड ५० लाख रुपैयाँलाई आधारमूल्य तोकेर विमान बिक्रीका लागि टेन्डर गरेको थियो। पहिलो र दोस्रो पटकको समय थपमा पनि कसैको आवेदन नपरेपछि निगमले मंसिर २६ गते तेस्रो पटक बोलकबलमा जहाज बिक्रीका लागि भन्दै १५ दिनको समय दिँदै सूचना प्रकाशन गरेको थियो।
तेस्रो पटक निगमले जहाज बिक्रीका लागि आधार मूल्य ४२ लाख ५० हजार अमेरिकी डलर राखेको थियो। जुन आधार मूल्य पहिलो पटकको टेन्डरमा राखिएको मूल्य भन्दा ४४ प्रतिशत कम गरिएको थियो। जुन मूल्य जहाज बिक्रीका लागि झन्डै साढे १ वर्ष अगाडि छनोट भएको कन्सल्ट्यान्टले दिएको मूल्यांकन रिर्पोट भन्दा बाहिरबाट थियो।
जहाज बिक्रीका लागि निगमले स्वीस कम्पनी फिन्टेकलाईलाई छनोट गरेको थियो। फिन्टेकले निगमको बोइङ बढीमा ५२ हजार ९६ डलर र घटीमा ४३ लाख ३३ हजार रुपैयाँसम्ममा बिक्री गर्न सकिने गरी रिर्पोट दिएको थियो। फिन्टेकको रिर्पोट निगमको सञ्चालक बोर्डबाट पनि अनुमोदन भएको थियो। तर, निगम कार्यकारी अध्यक्ष मदन खरेलले फिन्टेकको रिर्पोट लामो समयसम्म दराजमा थन्काएर राखेका थिए।
फिन्टेकको रिर्पोटपछि पनि खरेलले निगमको बोइङ उडान गर्ने भन्दै बिक्री प्रक्रिया सुरु गरेको थिएन। जहाज उडान नै गर्ने निर्णय गर्दै खरेलले २८ अक्टोबर २०१८ मा बोइङ मर्मतका लागि मलेसिया पठाएका थिए। विमान मर्मतपछि १६ जनवरी २०१९ मा मलेसियाबाट काठमाडौं आउँदै गर्दा आकाशमै उडिरहेको बेला 'विङ स्क्रिन' बिग्रन गयो। समस्या आएपनि विमान काठमाडौं विमानस्थलमा अवतरण गरेकाे थियो।
त्यसपछि केही दिन विमान ग्राउन्डेड भयो। ग्राउन्डेड भएको विमान प्राविधिक टोलीले मर्मत गरेर उडान योग्य बनाए। तर, उडानका लागि योग्य हुँदा पनि बोइङ उडान गरिरहेका पाइलटहरुको सीप परीक्षण प्रमाणपत्र (पिपिसी) को म्याद सकिएका कारण उडान हुन सकेको छैन। लामो समयसम्म बोइङ ग्राउन्डेड भएपछि अन्तत खरेलले जहाज बिक्री गर्ने निर्णय गर्दै सञ्चालन बोर्डमा पेस गरेका थिए।
सञ्चालन बोर्डले पनि जहाज बिक्रीका लागि अनुमोदन दिएको थियो। बोर्डको अनुमोदन खरेलले जहाज बिक्रीका लागि फिन्टेकको रिर्पोटको आधारमा असारमा पहिलो पटक टेन्डर गरेका थिए। खरेलले जहाज २०२० को फेब्रुअरीभित्रै बिक्री गर्नुपर्ने बाध्यकारी अवस्था आउन लागेपछि जहाज बिक्रीका लागि टेन्डर गरेका थिए। फेरि दुई पटकसम्मको टेन्डरमा कुनै पनि कम्पनीको आवेदन नपरेको भन्दै खरेलले जहाज बेच्नु पर्ने समय सकिनै लागेपछि कम मूल्यमा भएपनि जहाज बिक्रीका लागि भन्दै बोर्डमा प्रस्ताव लगेका थिए।
समय सकिनै लागेपछि थालिएको जहाज खरिद प्रक्रिया रोक्न नसक्ने अवस्थमा आएपछि कम मूल्यमै भएपनि जहाज खरिदको लागि अनुमोदन गरेको एक बोर्ड सदस्यले बताए। ‘जब राति तब बुढी ताती भनेजस्तै जहाज बिक्रीको प्रस्ताव आयो,’ एक बोर्ड सदस्यले भने, ‘परिस्थती जन्य अवस्था आइपरेपछि फिन्टेकको मूल्यांकन रिर्पोटमा उल्लेख भएको मूल्यभन्दा पनि कममा जहाजमा बिक्रीका लागि अनुमोदन गर्न बाध्य भयौं।’
निगमले जहाज बिक्री गर्ने गर्ने भएपछि सन् २०१९ को अक्टोबरमा मलेसिया मर्मत गर्न किन पठाइयो? जहाज तत्काल बिक्री गर्न मनासय नभएपनि पाइलटको पिपिसी नवीकरण नगरी किन लामो समयसम्म जहाज उडान योग्य हुँदैहुँदै ग्राउन्डेड गरियो? फेरि जहाज बिक्रीमा आफूखुसी मूल्य तय गर्नु नै थियो भने किन स्वीक कम्पनीलाई मूल्यांकन गराइ खर्च गराइयो? यी सबै विषयबाट जहाज खरिदमा केही गोलमोल गर्न खोजिएको प्रष्ट हुने स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।