काठमाडौं- सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश खारेज भएपछि अर्थमन्त्री डा युवराज खतिवडासहित ३ जनाले शुक्रबार राष्ट्रियसभा सदस्यका लागि सपथ लिएका छन्।
राष्ट्रियसभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टबाट उनीहरुले सपथ लिएका हुन्। सरकारबाट मनोनीत ३ सांसदलाई सपथ लिन बाटो सर्वोच्चले फागुन २३ गते खुला गरिदिएको थियो। अदालतले राष्ट्रियसभा सदस्य एवं अर्थमन्त्री डा खतिवडा, रामनारायण बिडारी र डा विमला राई पौड्याललाई सपथ ग्रहणका लागि बाधा नपर्ने भएकाले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको थियो।
यसअघि उनीहरुलाई तत्काल सपथ नगराउनू भनी फागुन १३ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई बुधबार न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रशाद घिमिरेको इजलासले निरन्तरता दिइरहनु नपर्ने आदेश सुनाएको हो।
आदेशमा भनिएको छ, ‘संवैधानिक र कानुनी प्रश्नको निरुपण संवैधानिक इजलासबाट हुन उपयुक्त देखिएकाले चाँडै निर्णय हुनुपर्ने प्रकृतिको देखिएकाले अग्राधिकार दिई रिट निवेदनको संयुक्त इजलास तर्फको लगत कट्टा गरी संवैधानिक इजलासमा पेश गर्नू।’
सर्वोच्चको अन्तरिम आदेशका कारण राष्ट्रियसभामा मनोनित ३ सांसदले फागुन २० मा सपथ लिन पाएका थिएनन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवा सरकारले सिफारिस गरेका ३ सदस्यलाई मनोनीत नगरी केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका सदस्यलाई मनोनीत गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।