काठमाडौं- सभामुखका एकमात्र उम्मेदवार कृष्णबहादुर महराले मनोनयन दर्ता गराएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद्मा महराको मनोनयन दर्ता भएको हो।
महराको प्रस्तावकमा एमाले नेता सुवास नेम्वाङ र समर्थकमा माओवादी नेता देव गुरुङ रहेका छन्।
मनोनयन दर्तापछि महराले नयाँ संसद्को मुख्य जिम्मेवारी कानुन बनाउने भएकाले सांसद्हरुका लागि आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बिहान बसेको केन्द्रीय सचिवालय बैठकले महराको नाममा सर्वसम्मति गरेको थियो। माओवादी केन्द्रबाट पटक-पटक मन्त्री भइसकेका महराले पछिल्लो समय सभामुखमा दाबी गर्दै आएका थिए। माओवादी केन्द्रभित्र महरालाई सभामुख बनाउन शीर्षस्थ नेताबीच समेत समझदारी बनेको थियो। सोही कारण नयाँ सरकारमा सहभागी हुन महराले दाबी छाडेका थिए।
वाम गठबन्धनबीच भएको पदीय भागबण्डा अनुसार सभामुखमा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति थियो। सभामुखको निर्वाचनका लागि महराले उम्मेदवारी दिए पनि नेपाली कांग्रेसले उम्मेदवार नै नउठाउने निर्णय गरिसकेको छ। उनी एक्ला उम्मेदवार भएकाले सभामुखमा निर्विरोध हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।