टन्टलापुरे घाम छ।
मेघदूतहरु आकाशको कुनै कुनामा कतै पनि छैनन् । जीवनदायी आर्द्रता, शीतलता र तरलताको सन्देश पाइने कुनै सम्भावना पनि छैन । चारैतिर उष्णता, शुष्कता र रुक्ष्यताको पत्र-पल्लवविहीनता मात्र छ । अँ, खुल्ला बजार भने लागिसक्या छ । निजी क्षेत्रका नाङ्लेदेखि साङ्ले पसलहरु समेत सजिइसकेका छन्।
ऊ बीउको बूढो बोका झैं विरक्त अनुहार लाएर आफ्नी बाख्री र पाठापाठीहरुसित यो खुल्ला बजारमा घाम खाएर बसिरहेको छ । उसको निजी क्षेत्रमा पसल नहुनाले ओत लाग्ने, घाम छेल्ने केही छैन।
कुनै ग्राहक अहिलेसम्म आएको छैन।
आउला, ऊ आफ्ना निरीह, सुन्दर र भकुल्ले पाठापाठीहरुतिर हेरेर आश्वस्त हुन्छ । पसिना पुस्छ, खैनी माड्छ र आफ्नो तल्लो ओठमा घुसार्छ । उसले मुखमा रसाएको सुर्तीको रस थुक्न नपाउँदै एक हूल ग्राहक आइपुगे । ऊ सजग भयो । सुर्तीको रस थुक्नु सट्टा घुटुक्क निल्यो । थुक्दा के पर्ने हो, कसो पर्ने हो । ग्राहकहरु बिच्किन पनि सक्छन् । उनीहरुले उसकी बूढी बाख्री लगायत पाठापाठी सबैलाई नियालेर तौलपूर्ण दृष्टिले हेरे । अनि तीमध्ये कुर्थामा सुनौला टाँक लगाएको गहकिलो ग्राहकले लोलुप दृष्टिसाथ हप्काउँदो स्वरमा भन्यो – 'मूल्य?'
उसले पुनः सुर्तीको रस घुटुक्क निल्यो र विरक्तिएको अनुहार हँसिलो पार्न खोज्दै अनुनय गर्यो, 'मूल्यको के सीमा छ र, हजुर ? हामीसित कुनै मान्यता नहुनाले बरु तपाईंले नै मूल्य तोकिदिनुस् ।' उसले अलिकति कूटनीतिक हुने प्रयास गर्यो।
कुर्था सुनौला टाँकसहित हाँस्यो, 'आफ्नो धन बेच्न कुनै मान्यता र आदर्श चाहिँदैन । तपाईंको धन हो, तपाईं नै भन्नुस् मूल्य ।'
यस कूटनीतिक सुनौलो हास्यले गर्दा ऊ मख्ख पर्यो । आफ्ना पाठापाठीहरुको मूल्य तोक्न उसले मुखको सम्पूर्ण सुर्ती तीतो रससहित घुटुक्क निल्यो । आफ्नी बूढी बाख्री जस्ती स्वास्नीतिर हेर्यो र मान्यताविहीन मुद्रामा हौसिएर 'मूल्य' को सगर्व घोषणा गर्यो।
उसले भनेको मूल्य सुन्नासाथ कुर्थाको सुनौला टाँक टिलिक्क टल्कियो । मानौं प्रसन्न भयो । हाँस्यो।
'हि-हि-हि ! … हा-हा-हा !' कुर्था मूल्य सुनेपछि के सम्झेर हाँस्यो भने नेपाली बोका-बाख्रीको मूल्य अमेरिकी स्तरको, 'हा-हा-हा ! … हे-हे-हे !!'
अनिकाल चर्को छ, महँगी चर्को छ, यस खुल्ला बजारको प्रतिस्पर्धी चर्को छ, अनि अहिले घाम पनि चर्को छ, अत: यो बूढा बोका-बाख्रीको जिजीविषा समेत चर्किएर तातेको छ । घन तातेकै बेलामा ठोक्नुपर्छ । यसै विद्या अनुरुप कुर्थाको सुनौलो टाँक मिलिक्क मिल्कियो । अर्थात्, रुमालमा बेह्रेर घन ठोकिहाल्यो; अर्थात्, 'तपाईं' बाट 'तिमी' मा ओर्लेर पुन: हप्काउँदो स्वरमा भन्यो।
'अघि तिमीले भन्या होइन, हाम्रो कुनै मान्यता छैन भनेर ? अनि त मान्यता नहुनेको यति ठूलो मूल्य कताबाट आयो?'
अलि-अलि मान्यता त छ नि, हजुर । चुक्ली लगाउनु, चाकडी गर्नु, गाई मारेर गधा पोस्नु पनि त धेरथोर मान्यतै हो ।'
उसले 'तिमी' सम्बोधन कृपापूर्वक पचाउँदै आफ्नी बूढी र पाठापाठीहरुतिर हेर्दै जवाफ फर्काउन सकेको हर्षोल्लासमा हाँस्यो । हाँसेपछि सम्झियो- यिनीहरु नकिनी नछोड्ने जस्ता छन्, ऊ पनि नबेची नछोड्ने जस्तो छ । गर्जो कसको ठूलो हो ? आवश्यकता कसलाई बढी परेको छ ? यै आधारमा मोलभाउ गर्ने सल्लाहका लागि ऊ आफ्नी बूढीतिर हेर्छ । हिमालमा हिउँ परेको र नपरेको ठाउँ झैं बूढीका कपाल तिलचामले रहेछन् । त्यस तल अनुहार पहाडे गुराँस झैं (ओइलाएकै भए पनि) रातो-रातो (घामले भए पनि) छ । अझै तल ठाउँ-ठाउँमा फाटेको हरियो गुन्यु-चोलो मधेसको चारकोसे झाडी जस्तो छ।
'बूढी ?'
'ज्यू ।'
'हन, किन नबोलेकी ? अब ता बोल्न पाइने बेला आएको छ।'
'के बोल्नु ? तिमी नै बोल न।'
'घरमा त मलाई चुइँक्क बोल्न दिँदैन्थिस् । अब किन वाक्य बस्यो?'
'बोलेर मूल्य पाइने होइन । गनगनाएर भुँडी भरिने होइन । नपुग भए मलाई नै बेच । हिजो पनि त भात खाएर मलाई बेच्न खोज्दै थियौ, आज पनि बेच । मैले आफूलाई तिमीलाई नै सुम्पेको छु क्यारे । मेरो प्रतिनिधि तिमी नै त हौ । अनि … …'
'भो, भो, भयो । एउटा कुरा सोध्यो, दस वटा गनगन । आइमाईको बानी नै क्या हो, क्या हो ! भैगो, म आफैं कुरा गर्छु । उसलाई झर्को लाग्यो, रिस उठ्यो, विवेक हरायो, 'लौ हजुर, लौ, लाने भए यो पनि छे, झिलिमिली-सेतो, रातो हरियो!'
'विचार गरौंला । तिम्रो सुझाउ पनि राम्रो हो । माउ नै पाएपछि पाठापाठीको के दु:ख ?' कुर्थाले बूढीलाई आफ्नै ढडियाको मछरी ठानेर आधिकारिक दृष्टिले हेर्दै भन्यो, 'तर अहिले यिनै पाठापाठीको मूल्य भन।'
बूढो अलमलिएर बर्बरायो, तर हात जोर्न बिर्सिए, 'मूल्य-सुल्य क्यै छैन, हजुर, हामीसित । अब हजुरले जे बक्सिन्छ, त्यै मूल्य भयो।'
कुर्थाको सुनौलो टाँक झिलिक्क झल्कियो । बजार व्यवस्थापनको खुलापनले उत्साहित हुँदै कुर्थाले उदारपूर्वक फेटामार चुरोटको बट्टा झिक्यो र एउटा आफूले सल्कायो, अर्को बूढालाई दियो।
चुरोट सल्किनासाथ बूढो दङदास, बूढी तलतलले छटपट।
कुर्थाले अब आफ्नो हात बूढाको थाप्लोमाथि नै परेको अनुभव गर्यो र 'तिमी' बाट 'तँ' मा ओर्लेर मूल्यवान् ज्ञान दिन थाल्यो, 'बुझ्यौ, हामी भाइ-भाइ हौं, अर्थात्, दाजुभाइ ! कुनै फिक्री न ले कान्छा, जति पाठापाठी भए पनि हामी उचित मूल्यमा किनी लिनेछौं । हाँ, तेरो बूढीयालाई पनि हामी सिँगारिदिन्छौं, तेरो बुताबाट त केही हुँदैन । अरे भाइ, तेरो घर मेरो घर!'
यति भनेर ऊ बूढाको निजी क्षेत्रमा खुलाबजार झैं हाँस्यो।
खुलाबजारको लेनदेनबाट झर्तापर्ताको आसले कागहरु कराए । यो यो 'सुबोल' सुनेपछि बूढाले सोच्यो, 'ऊ तँ भनिने भएपछि ऊ आफू पक्कै 'कान्छा' अर्थात् छोटाभाइ भयो र कुर्था चाहिँ 'बडाभाइ' । अत: बडाभाइको बडाइँ गर्दै उसले लुतुरे नम्रतासाथ भन्यो, 'ठूल्दाजु, मूल्य पनि तपाईं नै दिन सक्नुहुन्छ, अब तपाईंको विशाल भण्डारबाट अलिकति मान्यता पनि पाऊँ न।'
'मिल्छ, मिल्छ, जरुर मिल्छ । अघि तिमीले भनेको आफ्ना मान्यताहरु, चाकडी, चुक्ली र गाई मारी गधा पोस्नेले मात्र पुग्दैन । बाँकी हामी थपिदिउँला । आदर्श पनि राख्नुपर्छ । तिमीहरुसित आदर्श नै छैन । हाम्रो आदर्श त थाहै छ- बन्धुत्व ! हात्ती र बोकाको बन्धुत्व, कति ठूलो आदर्श छ यो ! यसलाई जीवित राख्न तेरै चारकोसे झाडीबाट एक भारी स्याउला काटेर हाल्दियो, खाइराख्छन् हात्ती र बोका आनन्दले।'
यस प्रकार अनिकाले बूढोले उच्चादर्श र मूल्य प्राप्त गर्यो र थपथाप मान्यताहरु पनि पाउने आश्वासन पायो । मूल्य प्राप्त भएपछि उसले आफ्ना पाठापाठीहरु आफूले बाटेका र रंगाएका दाम्लाहरुसहित सुनौला टाँक भएको कुर्थालाई टक्रायो । अनि चाकडीको निजी मान्यतानुसार भन्यो, 'पाठापाठीहरु नमानेर दु:ख दिने हुन् कि, हजुर; यो खुला बजारको साँधसम्म पुर्याइदिऊँ?'
'पर्दैन, पर्दैन, यो खुला बजारको साँध-सिमाना पनि खुला नै छ । अनि तेरा पाठापाठीले जान नमान्ने कुरै के छ र ? यो हरियो घाँस याँ छ हामीसित' भन्दै उसले आफ्नो कुर्थाको भुक्के गोजी ठटायो।
बूढी अँध्यारी भएर बर्बराई, 'बजार खुला भए पनि साँध-सिमाना त खुला नहुनुपर्ने।'
अहिले भने कुर्था हात्ती झैं गर्जियो, 'यै त मुस्किल छ, अरे बाबा, हात्तीको हात्तीसारमा जाबो बोका-बाख्रीको खोरका लागि के अलग जगह चाहियो ? ल, ले … आदर्श ! बन्धुत्व जस्तो महान् आदर्श राख्नुपर्छ । आदर्शको मूल्य पनि पछिपछि मिल्छ, बूढिया।'
'माफ गर्नुहोला हजुर । यसको त बुद्धि नै छैन । उसै बेसुरमा बर्बराइराख्छे । हामी जहाँ पनि कुनाकाप्चातिर अटाइहाल्छौं नि।'
हात्ती अझै रिसले सुँड बटार्दै छ, 'बन्द गर्न सक्छस् तैंले यो साँध-सिमाना?'
'सक्तैनौं, हजुर सक्तैनौं । बरु पाठापाठीले दुःख… …'
'फिकर नगर । साँध-सिमानासम्मका लागि हरियो घाँस छँदै छ । पारि पुगेपछि यो छँदै छ' भनेर कुर्थाले आफूसँग उभिएका अन्य कुर्थाहरुको हातको 'लाठी' तिर इसारा गर्यो । अब कुर्थाहरुले हरियो घाँस देखाउँदै लाठीले घेरेर लैजाँदै गरेका आफ्ना पाठापाठीहरुतिर बूढा-बूढी अँध्यारो मुख लगाएर हेर्दै छन् । उनीहरुको पोल्टामा अलिकति मूल्य, अलिकति मान्यता र थुप्रै आदर्श छन्।
यो देखेर झर्तापर्ताका लोभी कागहरु खुला बजारको निजी पसलहरुका छानाबाट उडेर हर्षोल्लासपूर्वक कराउँदै छन्।
'अन्नपूर्णाको भोज' संग्रहबाट ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।