सुरुङ्गा, झापा – ११ मध्ये १० छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी (एसइई) परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। उनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन्।
बाह्रदशी गाउँपालिका–५ घोडामारा निवासी हरिप्रसाद मैनालीले सोही गाउँपालिकास्थित फूलबारी माविमा रु एक लाखको अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे।
आफ्ना सबै छोरीले सोही विद्यालयबाट एसएलसी परीक्षा विशिष्ट श्रेणीमा उत्तीर्ण गरी सक्षम बनेकोमा खुशी भएका
उनले विद्यालयमा अक्षयकोष स्थापना गरेको बताए।
उनले भने – “मेरा सबै छोरी यही स्कूल पढेर सक्षम भए । अरूका छोराछोरी पनि मेरा छोरी झैं सक्षम भएको हेर्ने मलाई रहर छ।” सामुदायिक विद्यालय प्रतिको नकारात्मक धारणा हटाउन सबैलाई आग्रह गर्दै उनले भने, “सामुदायिक विद्यालयप्रति सबैको चासो र चिन्ता हुने हो भने सामुदायिक विद्यालयमा पढेका विद्यार्थी तीक्ष्ण बुद्धिका बन्छन्।”
हरिप्रसादका १० छोरी एकै आमाका सन्तान हुन् । उनकी कान्छी छोरी अञ्जु मैनाली अहिले कक्षा १२ मा अध्ययनरत छिन् भने नौ छोरी आ–आफ्नै पेशा–व्यवसायमा अब्बल रहेको बताइएको छ। जेठी विष्णु र कान्छी कैशिला हरिप्रसादका श्रीमती हुन्। उनकी जेठी श्रीमती विष्णुको निधन भइसकेको छ। एघार छोरीका बुबा हरिप्रसादलाई अहिले विष्णुको कोखबाट जन्मिएकी जेठी छोरीलाई पढाउन नपाएकामा दुःख छ। “गरिबीका कारण जेठी छोरीलाई मैले पढाउन सकिनँ, कान्छीका कोखबाट जन्मिएका सबै छोरी सक्षम भए,” उउनले भने, “पढाइभन्दा ठूलो धन केही रहेनछ।”
विद्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आएका उनले विद्यालयमा अक्षयकोष स्थापनाका लागि रकम प्रदान गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिसहित पठन–पाठनको व्यवस्था मिलाउन सबैलाई आग्रहसमेत गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।