रसुवा- लामा गुरु बेन्ज्यो कुइसाङ छेन्देलको सम्झनामा रसुवामा आज मानेछोप्पा पर्व मनाइँदैछ। हरेक वर्ष ग्याल्बो ल्होसारको १९ दिनपछि मनाइने यो पर्व यस वर्ष पनि मनाउन लागिएको हो।
जिल्लाको बृद्धिममा लामा गुरु छेन्देलको जन्म दिनको सम्झनामा र टिमुरेमा मृत्य भएको दिनको सम्झनामा माने छोप्पा पर्व बनाउने गरिएको टिमुरेका सोनामवाङ्दी तामाङले बताए। उनले भने, 'हामीले टिमुरेबासीले सामाजिक सद्भाव र एकताको निम्ति मानेछोप्पा हरेक वर्ष मनाउँदै आएका छौँ।'
तीन दिनसम्म मनाइने यो पर्वमा पहिलो दिन महिलाहरुले सफा कपडा र गरगहना लगाएर नाङ्लोमा खानेकुरा बोकेर पूजा घरमा लगेर पूजा गर्ने गर्दछन्। दोस्रो दिन कुल देउताको पूजा गर्ने गरिन्छ।
आज तेस्रो तथा अन्तिम दिन सबै घरबाट एक एक माना चामल लगेर तोर्मा बनाउने र बेलुकी तोर्मा काटेर प्रसाद खुवाउने गरिएको तामाङले बताए।
टिमुरेमा मानवबस्ती सुरु भएसँगै यो पर्वको सुरुवात भएको स्थानीय लामा गुरुहरुको भनाइ छ। आफ्ना धार्मिक गुरुको निधन भएपछि शोकका रुपमा मनाउँदै आएको यो पर्व अहिले गाउँमा रोगव्याधी नलागी सुख शान्ति मिलोस् र अनिकालसमेत नपरोस् भनी मनाउने गरिएको टिमुरेका फुर्पु दोर्जे तामाङले बताए।
परम्परा लोप हुन नदिनका लागि स्थानीय युवा पनि यो संस्कृति संरक्षणमा जुटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।