अबुजा–नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको हो।
हिंसामा परी सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको राज्यका गभर्नर साम ओर्टोमले बताए।
उनले त्यस घटनालाई अमानवीय घटनाको रूपमा व्याख्या गरे। घटनालाई नियन्त्रणमा लिई दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको उनले बताए।
अर्का एक जना सरकारी अधिकारीले सोमबार र मंगलबार भएका घटनामा परी मृत्यु हुनेमा विद्यालयका छात्रछात्रा पनि रहेको जानकारी दिएका छन्।
हिंसाका घटनाहरूले अरू सयौँ जनालाई प्रभावित पारेको पनि सरोकारवालाहरूले बताएका छन्।
हिंसा अन्त्यका लागि विभिन्न खालका बैठक तथा छलफलहरू भइरहेको अधिकारीहरूले जानकारी दिएको समाचारमा जनाइएको छ।
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले हिंसात्मक घटनाहरू चाडै नियन्त्रण हुने अपेक्षा गरिएको बताए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।