सुर्खेत– हुम्ला सदरमुकाम सिमकोटका लागि विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम साना जलविद्युत् आयोजनाको पाइप फुटेपछि दस दिनदेखि विद्युत् अवरुद्ध भएको छ।
फागुन १४ गतेदेखि अवरुद्ध भएको विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन। आयोजनाको पावरहाउसको पाइप फुट्दा विगत १० दिनदेखि सदरमुुकाम सिमकोट अन्धकार बनेको छ। विद्युत् आपूर्ति बन्द हुँदा सदरमुकाममा हुने सरकारी कामजकाज पनि प्रभावित बनेको छ।
विद्युत् अवरुद्ध भएपछि सिमकोटमा सञ्चालित इलोक्ट्रोनिक्स व्यवसाय सबैभन्दा बढी प्रभावित भएको छ। स्थानीय एफएम रेडियो पनि प्रभावित भएका छन्। विद्युत् अवरुद्ध हुँदा आम उपभोक्ताका साथै व्यवसाय र सञ्चारमाध्यम बढी प्रभावित हुन पुगेको नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहोराले बताए।
पाँच सय किलोवाट विद्युत् उत्पादन गर्ने भनेर निर्माण गरिएको आयोजनाले अहिलेसम्म पूर्ण क्षमताको विद्युत् उत्पादन गर्न सकेको छैन। दुुई सय ५० किलोवाट विद्युत् उत्पादन गर्ने मेसिन कामै नगरी मर्मत गर्नुपर्ने अवस्थामा पुुगेको स्थानीयले जनाएका छन्। आयोजनाले सेवा दिइरहेको सिमकोट र खापुनाथ गाउँपालिकामा दुई मेगावाट विद्युतको माग रहे पनि आयोजनाले एक सय २० किलोवाट मात्र विद्युत उत्पादन गर्दा आएको थियो। दैनिक ९ घन्टासम्म लोडसेडिङ हुने गरे पनि पछिल्लो दस दिनदेखि भने विद्युत् नै अवरुद्ध बनेको छ।
आयोजनाको कुनै पनि काम सन्तोषजनक नरहेको नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज विजय भण्डारीको भनाइ छ। उनले समयमै मर्मतसम्भार नगर्दा आयोजनाको भविष्य नै अन्यौलग्रस्त अवस्थामा पुगेको बताए।
यस वर्ष हिमपात कम हुुँदा पानीको स्रोत कम भएपछि पावरहाउसमा पानी आपूर्ति गर्ने पेनस्टिक पाइपमा हावा छिरेर फुटेको हिल्दुुम साना जल बिधुुत आयोजनाका प्राविधिक गब्बर लामाले बताए। जडान भएको कुुल ३ सय ६५ मिटर पेनस्टिक पाइपमध्ये १ सय ३८ मिटरसम्ममा बारम्बार फुटेर पानी चुुहिने गरेको प्राविधिक लामाले बताए। २०६४ जेठ १४ गतेबाट सञ्चालनमा आएको आयोजना २१ करोडको खर्चमा बनाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।