बीस वर्षपछि
मेरो अनुहारमा त्यो आँखा फर्केर आएको छ
जसबाट मैले पहिलो चोटि जंगल देखेको छु:
हरियो रङको बाढी, जसमा सबै रुख डुबेका छन् ।
अनि जहाँ हरेक चेतावनी र खतरा टारेपछि
एउटा हरियो आँखा जस्तै बनेर बसेको छ ।
बीस वर्षपछि
म आफैंसँग एउटा प्रश्न गर्छु
जनावर बन्न कति धैर्य चाहिन्छ ?
र कुनै जवाफ बिना
चुपचाप अगाडि बढ्छु
किनकि अचेल मौसमको चाला यस्तो छ-
रगतमा उड्ने पंक्तिहरुको पिछा गर्नु
लगभग व्यर्थ हो ।
दिन छिप्पिसकेको छ
सबैतिर ताला झुण्डिरहेको छ
भित्तामा टाँसिएका गोलीका छर्राहरु
अनि सडकमा छरिएका जुत्ताहरुको भाषामा
एउटा दुर्घटना लेखिएको छ
हावामा फरफराइरहेको हिन्दुस्तानको झण्डामा
गाईले गोब्य्राएको छ ।
तर यो समय
आत्तिएका मान्छेहरुको लाजबारे अनुमान गर्ने हैन
न त यो सोध्ने समय हो –
सन्त र प्रहरीमध्ये
देशको सबैभन्दा ठूलो दुर्भाग्य को हो ?
आह् ! फेरि फर्केर
छुटेका जुत्ताहरुमा गोडा राख्ने समय यो होइन
बीस वर्षपछि यो शरीरमा
चकमन्न गल्लीहरुमा चोर जस्तै लुसुक्क हिँड्दै
आफैंलाई प्रश्न गर्छु –
के 'आजादी' केवल थाकेका तीन रङको नाम हो
जसलाई एउटा पाङ्ग्राले बोक्छ,
या त यसको कुनै खास अर्थ छ ?
अनि कुनै जवाफ बिना अगाडि बढ्छु
चुपचाप ।
* अनुवाद: जोतारे धाइबा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।