राजविराज– सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरीका अधिकांश महिला/पुरुष फागुन ६ गते डम्बर रामको नयाँ घरमा भेला भएका थिए। बाढीपीडित १८ परिवारका लागि एसियन कन्फ्रेन्स अफ रिलिजन फर पिस (एसआरपी) नामको संस्थाले निर्माण गरिदिएका घर हस्तान्तरणको अवसर थियो त्यो।
हातमा विभिन्न प्ले–कार्ड बोकेका गाउँलेहरुका आँखा एकोहोरो बाटोतिरै थिए। गरिब दुःखीका लागि घर बनाइदिने एसआरपीका प्रमुख जापानी नागरिक मासामिची कामियाँलाई स्वागत गर्न उनीहरु व्यग्र थिए।
एक घन्टाको प्रतीक्षापछि मासामिचीको टोली कार्यक्रम स्थलमा प्रवेश गर्यो। गाउँलेहरुले उठेर स्वागत गरे। घरको साँचो हस्तान्तरणको औपचारिक कार्यक्रम सुरु भयो। यसैबीच मासामिचीको टोलीको ध्यान एउटा दृश्यले तान्यो– अधिकांश गाउँलेहरु देब्रे हातमा ‘वि निड होम’ र ‘वि आर फ्लड भिक्टिम्स’ लेखिएका प्ले–कार्ड बोकेर दाहिने हातको बूढीऔंलाले उपस्थिति पुस्तिकामा ल्याप्चे लगाउँदै थिए।
मासामिची र दीपिका सिंहले उत्सुकतापूर्वक त्यो दृश्य हेरिरहे। यसै क्रममा भुटियादेवी रामले भेद खोलिन्–‘मलाई पढ्न/लेख्न आउँदैन।’
प्ले–कार्ड देखाउँदै उनले थपिन्, ‘यसमा के लेखेको छ, मलाई नै थाहा छैन। गाउँमा अझै घरको आवश्यकता छ भन्ने बुझाउन हामीले प्ले–कार्ड बोकेका हौं।’ सबैले भुटियादेवीको कुरामै ‘होमा हो’ मिलाए।
करिब ५० परिवारको बसोबास रहेको मैनाकडेरीको राम टोलमा पढेलेखेका मानिस कमै छन्। चमार अर्थात् दलित समुदायका उनीहरु सबैको मनमा पढ्न नसकेको पीडा छ, तर अब सुधार गर्ने अवस्था नरहेको भन्दै चित्त बुझाएका छन्। बरु छोराछोरीलाई पढाएर समुदायकै अवस्था परिवर्तन गर्ने सोचमा छन्, उनीहरु।
‘उमेर छँदा आफूले पढ्न सकिएन। छोराछोरीलाई चाहिँ दुःख गरेर पनि स्कुल भर्ना गराएका छौं’, सरोदेवी राम भन्छिन्, ‘आफूले पाए जस्तो सास्ती छोराछोरीले भोग्नु नपरोस् भन्ने सोच छ।’ उनका पति सत्यनारायण हेटौंडामा जुत्ता सिलाउने काम गर्छन्। गाउँमा पढ्ने वातावरण र विद्यालय नजिकै नभएकाले ९ वर्षको छोरा सञ्जय र ३ वर्षकी छोरी काजललाई पनि उतै पढाउन थालेको उनले बताइन्।
रविना र विद्यानन्दालाई पनि आफूले नपढेको पीडा निकै बिझेको छ।
‘नपढेको भनेपछि मान्छेले गर्ने व्यवहार नै फरक हुन्छ’, रविना भन्छिन्, ‘पति हेटौंडामा जुत्ता सिलाउने काम गर्न थालेपछि छोरीलाई पनि उतै पढाउन थालेका छौं।’
२/४ कठ्ठा जमिनमा खेती र ज्याला मजदुरी राम समुदायको मुख्य पेशा हो। पछिल्लो युवा पुस्ता भने हेटौंडा, काठमाडौं तथा भारतको दिल्ली, पञ्चाव गएर मजदुरी गर्न थालेको छ।
तिरहुत गाउँपालिका २ का वडाअध्यक्ष भुलन यादव भन्छन्–‘कतिपय चाहिँ ऋण काढेर खाडी मुलुक पनि गएका छन्।’
कामको चटारो, सानै उमेरमा विवाह र शिक्षाको महत्व नबुझेका कारण लेखपढ गर्न नसकेका रामपरिवारले दैनिक ज्याला–मजदुरीबाटै जीविकोपार्जन गरिरहेको उनले बताए।
‘पछिल्लो समय आएर अधिकांशले छोराछोरीलाई विद्यालयमा भर्ना गराएका छन्’, वडाअध्यक्ष यादवले थपे।
मैनाकडेरीको रामटोल मात्र होइन, सप्तरीमा अहिले पनि निरक्षरहरुको संख्या धेरै छ। जिल्ला शिक्षा कार्यालयको तथ्यांक अनुसार २०७१ सम्म जिल्लामा निरक्षरहरुको संख्या १ लाख २ सय ४३ थियो। सन् २०१५ भित्र सबैलाई साक्षर तुल्याउने उद्देश्यका साथ सघन साक्षरता कार्यक्रम पनि चलाइयो। तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले २०७१ माघ १८ गते एक समारोहका बीच ३ महिने सघन साक्षरता कार्यक्रमको उद्घाटन गरिन्। तर, अवस्थामा भने ज्यूँका त्यूँ छ।
हस्ताक्षरसम्म गर्न नसकी ल्याप्चे लगाउने वृद्धवृद्धाहरु गाउँघरमा अहिले पनि प्रशस्त भेटिने गरेको एकीकृत अखिल नेपाल नेपाल शिक्षक संगठन सप्तरीका अध्यक्ष रामेन्द्रनाथ यादव बताउँछन्। साक्षरता कार्यक्रम अन्तर्गत हालसम्म भएका काम इमान्दारीपूर्वक हुन नसकेको र जिम्मेवार व्यक्ति÷निकायले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेका कारण अवस्थामा परिवर्तन नआएको उनको बुझाइ छ।
जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले पनि १५ देखि ६० वर्षभित्रका १५ देखि २० प्रतिशत मानिस अहिले पनि निरक्षर रहेको स्विकारे। निरक्षरहरुको पछिल्लो तथ्यांक तयार भएको छैन। तर, उनीहरुलाई साक्षर बनाउने अभियान भने हाल पनि जारी नै छ। पाण्डेले भने, ‘गत वर्ष राजविराज र सप्तकोशी नगरपालिकामा कार्यक्रम चलेको थियो। यस वर्ष हनुमाननगर कंकालिनी नगरपालिकामा चलिरहेको छ।’
हनुमाननगर कंकालिनीमा सञ्चालित २ सय ३१ वटा कक्षा मार्फत ४ हजार ६ सय २० जना निरक्षरलाई साक्षर बनाउने योजना रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।