रुकुम- रुकुम (पश्चिम भाग) को आठबीसकोट नगरपालिकाले ९ विद्यालय खारेज गर्ने निर्णय गरेको छ।
नगरपालिकाभित्र रहेका ६१ सामुदायिक विद्यालयमध्ये ९ विद्यालयलाई पूर्णरुपमा खारेज गर्ने निर्णय नगर शिक्षा समितिले गरेको हो। भौतिक पूर्वाधार, विद्यार्थी संख्या र शैक्षिक गुणस्तर मापनका आधारमा ती विद्यालयलाई नजिकको अर्काे विद्यालयमा पूर्णरुपमा गाभ्ने निर्णय भएको समितिले जनाएको छ।
एक महिनाको समय लगाएर गरिएको विद्यालय अनुगमनबाट प्राप्त प्रतिवेदनको आधारमा ९ विद्यालयलाई पूर्ण गाभिने र १६ विद्यालयको कक्षा घटाउने निर्णय भएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए। पढाइको गुणस्तर सुधार्न विद्यालय खारेज तथा तह घटाउने निर्णय भएको बताइएको छ।
'न्यूनतम पूर्वाधार पूरा नभएका, विद्यार्थी संख्या न्यून रहेका, विद्यालयको दूरी ३० मिनेटभन्दा कम भएका र शैक्षिक गुणस्तर न्यून भएका विद्यालय खारेजीमा परेका हुन्,' उनले भने।
नगरपालिकाभित्र रहेका चित्रिपाटन आधारभूत विद्यालय वडा नं ४, मस्टकैलाश तथा जलदेवी आधारभूत विद्यालय वडा नं ५, जोलीपीपल तथा जनचेतना र दीपज्योति आधारभूत विद्यालय वडा नं ९ लाई खारेज गरिएको छ। यसका साथै साइराम आधारभूत विद्यालय वडा नं १०, जनभावना आधारभूत विद्यालय वडा नं ११ र जनविकास आधारभूत विद्यालय वडा नं १२ पनि खारेजीमा परेका छन्।
ती विद्यालयका शिक्षक तथा विद्यार्थी र अन्य भौतिक सम्पत्ति नजिकको विद्यालयमा गाभिएको नगर प्रमुख केसीले बताए। भौतिक पूर्वाधारको अभाव भएका र विद्यार्थी संख्या कम भएका अन्य १६ विद्यालयको तह घटाउने निर्णयसमेत भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।