राजविराज– संघीय संरचना अनुसार कतिपय कानुनी अधिकार स्थानीय तहलाई दिइएपछि सप्तरीमा पहिलो पटक राजविराज नगरपालिकाले इजलास सुरु गरेको छ।
इजलासले बुधबार दैनिक पेशी सूचीमा परेका ४ विषयमा बहस तथा छलफल गरी कारबाही अघि बढाएको छ। जसमध्ये पेशी सूची १ र २ मा परेको घर खाली तथा घर भाडा दिलाई पाऊँ भनी नीलम सिंहले दर्ता गराएका दुई वटै मुद्दाको कारबाही स्थगित भएको छ। प्रतिवादी प्रकाशकुमार शाहीले वकिल राखी पाऊँ भनी दिएको निवेदन अनुसार बढीमा १० दिनका लागि मुद्दाको कारबाही स्थगित गरिएको अधिवक्ता तथा राजविराज नगरपालिकाका कानुनी सल्लाहकार शिवकुमार चौधरीले बताए।
यसैगरी, पेशी सूची ३ मा रहेको सम्बन्ध विच्छेद मुद्दामा प्रतिवादीको ठेगाना फेला नपरेकाले १५ दिने सूचना जारी गर्ने निर्णय भएको छ। पत्नी सावित्री कोइरालासँग सम्बन्ध विच्छेका लागि सञ्जय श्रेष्ठले साउन २४ गते दर्ता गराएको निवेदनमाथि छलफल हुँदा न्यायिक समितिकी संयोजक साधना झासहितको संयुक्त इजलासले प्रतिवादीका नाममा १५ दिने सूचना जारी गर्ने निर्णय गरेको चौधरीले बताए।
यसैगरी पेशी सूची ४ मा रहेको खानपिन तथा बस्न पाऊँ भनी परेको मुद्दामा प्रतिवादीलाई उपस्थित गराउन इजलासले आदेश जारी गरेको छ। राजविराज नगरपालिका ९ मलेठ (पश्चिम टोल) की हविना खातुनले फागुन २० गते आफ्नै छोरा विरुद्ध नगरपालिकामा मुद्दा दर्ता गराएकी थिइन्।
मिसिल अनुसार छोरा मो. इसुल मियाँले हविनालाई झुक्याएर ४ कठ्ठा १० धुर जग्गा आफनो नाममा पारेका छन्। उक्त जग्गा फिर्ता पाउनुपर्ने र सहजरुपमा खान/बस्न पाउनुपर्ने हविनाको मुद्दामा माग गरिएको चौधरीले जानकारी दिए। हविनाको माग दावी अनुसार प्रतिवादीसँग केही कुरा बुझ्नु आवश्यक भएकाले उनका दुवै छोरा इसुल र मो. इद्रिक मियाँलाई हाजिर गराउन आदेश जारी गरिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन–०७४ ले न्यायिक समिति मार्फत विभिन्न १३ प्रकारका मुद्दा निरुपण गर्न सक्ने अधिकार दिएको छ। ऐनको परिच्छेद ८ को दफा ४६ मा उपमेयर/उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति गठन हुने व्यवस्था छ। दफा ४७(१) अनुसार समितिले १३ वटा मुद्दा निरुपण गर्न सक्छ। मुद्दा दर्ता भएपछि दफा ४७ को उपदफा २(ग) अनुसार समितिले प्रतिउत्तरका लागि दोस्रो पक्षलाई म्याद दिई सामेल गराई तारेखमा राख्ने, मेलमिलाप गराउने र १ वर्षभित्र मुद्दा किनारा नलागे रायसहित मुद्दा सम्बन्धित अदालतमा पठाउने व्यवस्था छ।
सोही प्रावधान अनुसार चालु आर्थिक वर्षमा मात्रै राजविराज नगरपालिकामा १३ वटा मुद्दा दर्ता भएका छन्। जसमा सम्बन्ध विच्छेदका ६ र अन्य प्रकृतिका ७ वटा मुद्दा दर्ता रहेको नगरपालिकाका प्रशासकीय अधिकृत प्रफुल्ल श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।