जनकपुरधाम- नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठकले आगामी बैसाख २२ गते सबै प्रदेशमा महासंघको प्रादेशिक निर्वाचन गराउने निर्णय गरेको छ।
बैठकले १८ बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने र पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको पालनामा प्रतिबद्धता व्यक्त गरेको छ।
श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा सरकारी उदासीनताप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई कार्यान्वयनका लागि सशक्त आन्दोलनका कार्यक्रमसहित चार महिने कार्ययोजना तय गर्दै बैठकले महासंघको सुझाव, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकारसँग माग गरेको घोषणापत्रमा उल्लेख गरिएको छ।
बैठकले स्वास्थ्य बीमाको थप योजना अघि बढाउने निर्णय गर्दै प्रेस स्वतन्त्रता सेनानी तथा ज्येष्ठ पत्रकारको सम्मानका लागि सरकारसमक्ष कार्ययोजना प्रस्तुत गर्ने उल्लेख छ।
आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रिया रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै बैठकले केन्द्र तथा सबै प्रदेशमा प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढाउन सरकारसमक्ष माग गरेको छ।
बैठकले आफैँ श्रमजीवी आफैँ सञ्चालक रहेका साना लगानीका सञ्चार माध्यमलाई बचाउन समानुपातिक विज्ञापन वितरणलगायत सञ्चार सामग्रीमा कर छुटसँगै वृत्ति विकास तथा तालीम सञ्चालनका लागि साना लगानी मिडिया कोष स्थापना गर्न सरकारसँग माग गरेको छ।
प्रेस स्वतन्त्रता विरोधी अनलाइन निर्देशिका फिर्ता लिन आग्रह गर्दै राज्यका सबै निकायमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र प्रत्याभूतिको प्रभावकारी व्यवस्था गर्न आग्रह बैठकले गरेको छ।
महासंघको केन्द्रमा तत्कालै तथा जिल्ला शाखा र प्रदेशमा क्रमशः इ–लाइब्रेरीको स्थापना गर्ने निर्णय बैठकले गरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।