विदुर– नुवाकोटको लिखु गाउँपालिकाको चौघडामा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
आगलागीमा परी सात लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीमा परी एक जना घाइते भएका छन्। नेपाली सेनामा कार्यरत क्याप्टेन प्रल्हाद थापाको घरमा आगलागी हुँदा उनका भाइ ३० वर्षीय प्रदीप थापा घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौं लगिएको छ।
आगलागीबाट घर पूर्णरुपमा जल्दा एक थान स्कुटर, अन्नपात, लत्ताकपडा लगायत सबै नष्ट भएको प्रहरी चौकी ढिकुरेका इञ्चार्ज टेकबहादुर पालले जानकारी दिए।
कसैले आगो लगाइदिएको हुनसक्ने भन्दै पीडित परिवारले छानबिनका लागि प्रहरीमा उजुरी दिएका छन्। प्रहरीले समेत आगो लाग्नुको कारण शंकास्पद देखिएको बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ।
यसअघि मंगलबार मात्रै नुवाकोटको विभिन्न दुई ठाउँमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।