वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसभित्र अस्तव्यस्तता बढेको भन्ने समाचार भ्रामक भएको बताएका छन्।
पछिल्लो समय ह्वाइट हाउसका उच्च अधिकारीहरुले एकपछि अर्को गर्दै राजीनामा दिन थालेपछि ट्रम्प प्रशासनमा अस्तव्यस्तता बढेको भन्ने गुनासो बढेको थियो।
मंगलबार मात्रै ट्रम्पका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोहनले राजीनामा दिएका थिए।
कोहनको राजीनामापश्चात् मंगलबार साँझ एक ट्विट गर्दै राष्ट्रपति ट्रम्पले ह्याइटहाउसमा अस्तव्यस्तता नभइ उच्च उर्जा रहेको दावी गरे।
आर्थिक सल्लाहकार कोहनको राजीनामालाई लक्षित गर्दै उनले भने,‘मानिसहरु सधैँ आउन जान चाहिरहन्छन्। र म अन्तिम निर्णय लिनुभन्दा अघि बलियो सम्वाद होस् भन्ने चाहन्छु।’
उनले आफुसँग अझै काम गर्नसक्ने प्रतिभावान मान्छेको कमी नभएको दावी गरे।
राष्ट्रपति ट्रम्पले ट्विटमा लेखेका छन्– ‘मसँग अझै केहि मान्छेहरु बाँकी छन् त्यसकारण पूर्णताको खोजीमा म सँधै परिवर्तन चाहिरहेको हुन्छु।’

राष्ट्रपति ट्रम्पको टिमबाट बाहिरिने कोहन पछिल्ला वरिष्ठ सरकारी अधिकारी हुन्।
स्वतन्त्र व्यापारका समर्थक कोहन आल्मुनियम र स्टिलको आयातमा कर बढाउने राष्ट्रपति ट्रम्पको योजनामाथि सन्तुष्ट थिएनन्।
सन् २०१७ को अगस्टमा भर्जिनियाको चार्लोटेसविलमा भएको एक र्यालीमा राष्ट्रपति ट्रम्पको कोहनले आलोचना गरेका थिए। सो क्रममा उनले प्रशासनलाई मजबुत बनाउनुपर्नेमा जोड दिदैँ सो कार्य गर्न असम्भव नरहेको जिकिर गरेका थिए।
सो कार्यक्रमपश्चात् नै उनले राजीनामा दिन पत्र नै तयार गरिसकेको बताइएको थियो।
कोहनको राजीनामापश्चात् यसअघि एक विज्ञप्ति जारी राष्ट्रपति ट्रम्पले आर्थिक सल्लाहकारबाट पदमुक्त हुन लागेका कोहनमा दुर्लभ प्रतिभा रहेको बताएका थिए।
राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकप्रति प्रतिबद्ध रहँदै सेवा प्रदान गरेकोमा कोहनलाई धन्यवादसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।