सुर्खेत- उमेर नपुगेकी बालिकासँग विवाह गर्ने दैलेखका एक व्यक्तिलाई जिल्ला अदालतले एक महिना कैद र १० हजार जरिवानाको फैसला गरेको छ। नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका २६ वर्षीय हेमन्त थापालाई मंगलबार सो सजाय फैसला भएको अदालतका प्रवक्ता नायव सुब्बा बिनोद आचार्यले जानकारी दिए।
नौमूले गाउँपालिका–८ चौराठाकी १५ वर्षीया एक बालिकालाई विवाह गरेपछि अदालतले कैदसहित जरिवाना सजाय सुनाएको हो। सोही मुद्दाको सन्दर्भमा बालिकालाई विवाह गराउन फकाएको आरोपमा नारायण नगरपालिका–११ बिन्ध्यवासिनीकै गगनबहादुर थापा र शेरबहादुर थापालाई पनि प्रति व्यक्ति एकएक हजार रुपैंयाँ जरिवाना भएको प्रवक्ता आचार्यले जानकारी दिए।
गएको असोज २८ गते राति आमाबुबा घरमा नभएको मौकामा फकाएर विवाह गरेको भन्दै बालिकाकी आमाले गत कात्तिक २ गते प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही उजुरीका आधारमा जिल्ला सरकारी वकील कार्यालयले कात्तिक २२ गते दैलेख जिल्ला अदालतमा बालविवाह मुद्दा चलाएको थियो।
जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट भएको फैसलामा अदालतमा पेश भएको प्रमाणका आधारमा बालविवाह गरेको ठहर गर्दै बालिका आमाबुबासँग गइसकेकोले विवाहको मान्यता कायम नरहने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।