वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोहनले राजीनामा दिएका छन्। राष्ट्रपति ट्रम्पको टिमबाट बाहिरिने उनी पछिल्ला वरिष्ठ सरकारी अधिकारी हुन्।
स्वतन्त्र व्यापारका समर्थक कोहन आल्मुनियम र स्टिलको आयातमा कर बढाउने राष्ट्रपति ट्रम्पको योजनामाथि सन्तुष्ट थिएनन्।
ह्वाइट हाउसले कोहनको राजीनामाको पुष्टि गर्दै एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा कोहनले पेश गरेको राजिनामा देशको सेवा गर्नका लागि सो पदको जिम्मेवारी पाउनु आफ्ना लागि सम्मान भएको बताएका उल्लेख छ।
गोल्डम्यान सक्स बैंकका पूर्व प्रमुखसमेत रहेका ५७ वर्षीय कोहनले गत वर्ष ट्रम्पलाई कर सुधारमा महत्वपूर्ण सहयोग गरेका थिए। तर दुबै जना यती हदसम्म नजिक हुनसक्ने विश्वास भने गरिएको थिएन।
सन् २०१७ को अगस्टमा भर्जिनियाको चार्लोटेसविलमा भएको एक र्यालीमा राष्ट्रपति ट्रम्पको कोहनले आलोचना गरेका थिए। सो क्रममा उनले प्रशासनलाई मजुबुत बनाउनुपर्नेमा जोड दिदैँ सो कार्य गर्न असम्भव नरहेको जिकिर गरेका थिए। सो कार्यक्रमपश्चात् नै उनले राजीनामा दिन पत्र नै तयार गरिसकेका थिए।
‘यो कार्यकाल मेरो देशको सेवा गर्नका लागि मप्रतिको सम्मान भएको बुझेको छु। मेरो कार्यकालमा गरिएका आर्थिक नितीमा परिवर्तन तथा विशेषगरि ऐतिहासिक कर सुधार योजनाले अमेरिकी नागरिकमा फाइदा पुगेको छ।’, आर्थिक सल्लाहकार कोहनले जारी गरेको राजीनामा पत्रमा उल्लेख छ।
उनले आफुलाई सो मौका दिएको प्रति राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्। भविष्यमा व्यक्तिगत प्रगती तथा प्रशाषनिक क्षेत्रमा समेत सफलताका लागि राष्ट्रपति ट्रम्पलाई कोहनले शुभकामना दिएका छन्।
राजीनामा दिए पनि कोहन कहिलेसम्म पदमा रहिरहन्छन् भन्ने मिति तय नभइसकेको ह्याइट हाउसले जनाएको छ। ह्याइट हाउसका एक सरकारी अधिकारीका अनुसार कोहनले थप केहि साता राष्ट्रपतिलाई परामर्श दिनेछन्।
ट्रम्पको प्रतिक्रिया
कोहनको राजीनामापश्चात् राष्ट्रपति ट्रम्पले आर्थिक सल्लाहकारबाट पदमुक्त हुन लागेका कोहनमा दुर्लभ प्रतिभा रहेको बताएका छन्।
उनले भने,‘हाम्रा योजनाहरुलाई अगाडि बढाउन उनले निकै राम्रो काम गरेका छन्। ऐतिहासिक कर कटौती तथा सुधार योजना तथा अमेरिकी अर्थतन्त्र सुधारमा उनले गरेको योगदान महत्वपूर्ण छ।’
राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकप्रति प्रतिबद्ध रहँदै सेवा प्रदान गरेकोमा कोहनलाई धन्यवाद दिएका छन्। उनले छिट्टै नै सो स्थानमा पदपूर्ति गरिने बताएका छन्।
उनले थपे,‘धेरै मानिस जागिरको अपेक्षमा छन्। जसमध्ये एकलाई छानिनेछ।’
अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ह्वाइट हाउसका सल्लाहकारद्वय पेटर नाभारो र ल्यारी कुड्लोमध्ये एकले कोहनको स्थान लिने आंकलन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।