तेह्रथुम- वनमा लागेको डढेलो गाउँमा पस्दा जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्माका ६ वटा घर जलेर नष्ट भएका छन्।
स्थानीय गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए।
गाउँसँगै रहेको हात्ती आहाल सामुदायिक वनमा मंगलबार दिउँसो करिब ३ बजे सल्किएको आगो हावाहुरीका कारण गाउँमा पसेको थियो। साढे ३ बजेदेखि घरमा सल्किएको आगोले फुसको छानो भएका, पाली सहितका ६ वटा घर, लत्ताकपडा, नगद र गरगहनासमेत जलेर नष्ट भएको वडाध्यक्ष तुलसीराम खनालले बताए। उनका अनुसार आगलागीबाट रु ४४ लाख २७ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। आगो सल्किएपछि तुरुन्तै आगो निभाउने जनशक्ति र पानी दुवै अभाव भएकाले ठूलो क्षति भएको प्रजिअ खनालले बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीले स्याउलाले हिर्काएरै साँझ ६ बजे आगो नियन्त्रणमा लिएका थिए। लालीगुराँस नगरपालिकासँग दमकल भए पनि सडक नभएका कारण आगो निभाउन समस्या भएको हो।
वनमा कुनै व्यक्तिले नै आगो लगाएको भन्ने खुले पनि उनको नामबारे थाहा नभएको वडाध्यक्ष खनालले बताए । वनमा आगो लगाउनेको बारेमा सूचना आए आफूले मुद्दा दर्ता गरी कारबाही गर्ने प्रजिअ खनालले बताएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।