काठमाडौँ- वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका ११ जना नेपालीलाई ओमनस्थित नेपाली राजदूतावासले समन्वय गरी स्वदेश पठाएको छ।
दूतावासले जारी गरेको विज्ञप्तिमा करार सम्झौता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएका ११ जना पीडित कामदारको मागबमोजिम नेपाली राजदूतावासको समन्वयमा स्थानीय कानुनी औपचारिकता पूरा गरी स्वदेश फिर्ता गरिएको उल्लेख छ।
ओमानको सोहारस्थित मुवाराद वादी हिबी मोडर्न ट्रेड (एएसटिडी) कम्पनीमा हनेस्टी ओभरसिज प्रालिबाट स्काफोल्डिङ पदमा काम गर्न आएका २० नेपाली कामदार समस्यामा परेका थिए। तीमध्ये ११ जना पीडितले दूतावाससँग सहयोग मागेपछि उनीहरूले काम गर्ने भनिएको कम्पनीबाट करीब १६५ किमी टाढा बर्का भन्ने स्थानमा अलपत्र अवस्थामा राखिएको ठाउँमा दूतावासको टोलीले केही दिनअघि स्थलगत अनुगमन गर्दा फेला पारेको थियो।
सम्बन्धित कम्पनीलाई कानूनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिश गरी पठाइसकिएको दूतावासले जनाएको छ। बाँकी ९ जना कामदारको समस्या समाधान एवं स्वदेश फिर्तीका लागि दूतावासको प्रयास जारी राखेको विज्ञप्तिमा उल्लेख छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।