काठमाडौं- नेपाल टेलिकम १३औं दक्षिण एसियाली खेलकुद (साग)को पार्टनर स्पोन्सर बनेको छ।
मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुने सागमा नेपालसहित ७ देशले भाग लिने तय भइसकेको प्रतियोगितामा टेलिकम पार्टनर स्पोन्सर बनेको हो।
पार्टनर स्पोन्सर बनेको टेलिकमले सागमा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्डसमेत उपलब्ध गराएको छ।
काठमाडौ, जनकपुर र पोखरामा विभिन्न स्पर्धा हुने खेल महोत्सवमा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका लागि कम्पनीले ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको जानकारी दिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउन्टर राखी साग आयोजक कमिटीले टेलिकमको सिम विदेशी खेलाडी तथा पाहुनाका लागि प्रदान गरिरहेको छ।
एकताको भावनामा बढोत्तरी गर्न सक्ने ठानिएको प्रतियोगितामा मोबाइल संचार सुविधाको कमी हुन नदिन टेलिकमले खेल अवधिभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको छ।
कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्री लगायत सम्पूर्ण खेलकर्मीहरुको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।