काठमाडौं- नेपाली सेनाले एमबिबिएसका विद्यार्थीहरुबाट बढी लिएको शिक्षण शुल्क समायोजन गर्ने भएको छ। सेनाको सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले एमबिबिएसमा अध्यनरत विद्यार्थीबाट ८ लाख बढी शुल्क असुलेको खबर नेपालाभइले सार्वजनिक गरेको थियो।
सेनाले संस्थानबाट शैक्षिक वर्ष २०७३/७४ र २०७४/७५ मा भर्ना भएका एमबिबिएसका विद्यार्थीहरुको शिक्षण शुल्क चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को मंसिर ११ गतेको पत्रानुसार समायोजन गर्ने निर्णय गरको जनाएकाे छ।
नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सञ्चालक समितिको शुक्रबार बसेको बैठकले शैक्षिक वर्ष २०७३/७४ मा भर्ना भएका एमबिबिएस छैठौं र २०७४/७५ मा भर्ना भएका सातौं ब्याचका विद्यार्थीहरुको शुल्क समायोजन गर्ने निर्णय गरेको हो।
‘यसरी समायोजन गरिएको शुल्क विद्यार्थीहरुले तिर्नु पर्ने आगामी शिक्षण शुल्क किस्तामा घटाएर भुक्तानी गर्न पाउने व्यवस्थासमेत गर्ने निर्णय गरिएको छ,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
शुक्रबार नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली सेनाद्वारा संचालित मेडिकल कलेजले बढी लिएको शुल्क समायोजन गर्न निर्देशन दिएका थिए। प्रधानसेनापति पूर्णचन्द्र थापालाई मन्त्रालयमा डाकेर मन्त्री पोखरेलले शुल्क समायोजन गर्न निर्देशन दिएका थिए। प्रधानसेनापति थापाले सरकारको निर्देशन पालना गर्ने बताएका थिए।
नेपाली सेनाद्वार सञ्चालित सानो भर्याङस्थित उक्त मेडिकल कलेजले आठ वर्षदेखि चिकित्सा शिक्षा प्रदान गर्दै आएको छ। प्रत्येक शैक्षिक सत्रमा एक सय विद्यार्थीले एमबिबिएस अध्ययन गर्दै आएका छन्। सरकारले तोकिएभन्दा बढी शुल्क नलिन सरकारी र निजी क्षेत्रका मेडिकल कलेजलाई पटकपटक आग्रह गरेको छ।
नेपाल सरकार र मेडिकल कलेजका प्रतिनिधिबीच यही मंसिर ११ गते भएको सहमतिमा बढी शुल्क समायोजन गर्ने सहमति भएको थियो। विद्यार्थी सङ्गठनले भने चिकित्सा शिक्षा महंगाे भएको र कलेजहरुले मनोमानी शुल्क लिएको भनी आन्दोलन गर्दै आएका छन्।
सम्बन्धित समाचारः
बढी लिएको शुल्क फिर्ता गर्न सेनालाई शिक्षामन्त्रीको निर्देशन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।