काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली सेनाद्वारा सञ्चालित मेडिकल कलेजले बढी लिएको शुल्क फिर्ता गर्न निर्देशन दिएका छन्।
मन्त्री पोखरेलले प्रधानसेनापति पूर्णचन्द्र थापालाई शुक्रबार मन्त्रालयमा डाकेर शुल्क समायोजन गर्न निर्देशन दिएका हुन्। सैनिक मेडिकल कलेजले शिक्षण शुल्क बढी लिएपछि विरोध हुँदै आएको थियो।
मन्त्री पोखरेलले समायोजन गर्न निर्देशन दिएसँगै प्रधानसेनापति थापाले सरकारको निर्देशन पालना गर्ने बताएका थिए। नेपाली सेनाद्वारा सञ्चालित सानो भर्याङस्थित मेडिकल कलेजले आठ वर्षदेखि चिकित्सा शिक्षा प्रदान गर्दै आएको छ।
प्रत्येक शैक्षिक सत्रमा एक सय विद्यार्थीले एमबिबिएस अध्ययन गर्दै आएका छन्। सरकारले तोकिएभन्दा बढी शुल्क नलिन सरकारी र निजी क्षेत्रका मेडिकल कलेजलाई पटक-पटक आग्रह गरेको छ। विद्यार्थीसँग जर्बजस्ती लिइएको शुल्क फिर्ता नगरे ठगी मुद्दामा कारवाही गर्ने चेतावनी पनि दिँदै आएको छ।
नेपाल सरकार र मेडिकल कलेजका प्रतिनिधिबीच यही मंसिर ११ गते भएको सहमतिमा बढी शुल्क समायोजन गर्ने सहमति भएको छ। विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा महंगाे भएको र कलेजहरुले मनोमानी शुल्क लिएको भनी आन्दोलन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।