जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत वर्षको फागुन २३ गते सप्तरीको मलेठमा ५ जनाको ज्यान जानेगरी भएको घटनालाई स्मरण गरेका छन्।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राउतले मधेस आन्दोलनमा भएको दमनको पीडा स्मरण गरेको भन्दै त्यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
राउतले घाइते भइ अशक्त भएका व्यक्तिहरूको हकमा सरकारले छिटै नयाँ तथा प्रभावकारी योजना, नियम तथा नीति बनाइ कार्यान्वयन गर्ने पनि जनाएका छन्।
के हो मलेठ घटना?
नेकपा एमालेले गत वर्ष ‘मेची–महाकाली राष्ट्रिय अभियान २०७३’ गरेको थियो। ‘सुखानीका सहिद दिवस’ को दिन पारेर उसले तराई केन्द्रित १५ दिने मेची महाकाली अभियान सुरू गरेको थियो। सो पार्टी ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान: राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ विभिन्न ठाउँमा आमसभा गर्दै हिँडेको थियो। प्राय: ठाउँमा मुख्य नेताहरू नै सम्बोधन गरेका थिए।
झापाको काँकडभिट्टाबाट सुरू अभियान २३ गते सप्तरीको मलेठमा भएको थियो। त्यहीँ विद्रोही मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले दमन गर्दा ५ जनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए। मृतकहरू कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको स्थानीयले त्यतिबेला बताउने गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।