मस्कोमा सोमबार समकक्षी सर्गेइ लाभ्रोभसँगको भेटमा मन्त्री ज्ञवाली। तस्बिर : परराष्ट्र मन्त्रालय
काठमाडौं- रुसको औपचारिक भ्रमणमा गएका पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
मस्कोमा सोमबार समकक्षी सर्गेइ लाभ्रोभसँगको भेटमा मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले पुटिनलाई पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए।
त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका प्रधानमन्त्री दिमित्री मेदवेदेभलाई पठाएको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेका थिए।
नेपालको निम्तोबारे प्रतिक्रिया जनाउँदै रूसी विदेशमन्त्री लाभ्रोभले कूटनीतिक माध्यमबाट भ्रमणको मिति तय गर्ने जानकारी दिएका थिए।
‘हामी यी आमन्त्रणहरूलाई रचनात्मक रूपमा विचार गर्नेछौँ,’ ज्ञवालीसँगको प्रतिनिधिमण्डलको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा लाभ्रोभले भने, ‘हामीले कूटनीतिक माध्यमहरूबाट भ्रमणको मिति तय गर्ने सहमति गरेका छौँ।’
पत्रकार सम्मेलनमा लाभ्रोभले सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सम्झना गर्दै नेपाल रूसको दक्षिण एसियाकै पुरानो साझेदार भएको बताएका थिए।
सैन्य सहकार्यमा रुसी चासो
रुसले नेपालसँगको सैन्य सहकार्यमा पनि रुचि देखाएको छ।
‘प्राविधिक सैन्य सहकार्यको पनि राम्रो सम्भावना रहेको छ,’ पत्रकार सम्मेलनमा लाभ्रोभले भनेका थिए, ‘यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने हामीले निर्णय गरेका छौँ।’
मन्त्री ज्ञवालीको भ्रमणका क्रममा नेपाल र रुसबीच आपत्कालीन पूर्व तयारी तथा प्रतिकार्यका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
लाभ्रोभले नेपालको उच्च भौगोलिक क्षेत्रमा रूसी उड्ययन क्षेत्रको राम्रो अनुभव रहेको भन्दै रूसी एमआई १७ हेलिकप्टरहरू नेपालमा सञ्चालन भइरहेको बताएका थिए।
फौजी कारबाही र प्रकोपमा विपद् व्यवस्थापनका कामका नेपाली सेनाले एमआई १७ हेलिकप्टरहरू प्रयोग गर्ने गरेको छ।
यसैबीच रूसी राजदूतले नेपाली सेनाका प्रधानसेनापतीसँग भेटेका गरेका छन्।
सामेबार भएको उक्त भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।