राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष लोकगायक बद्री पंगेनीको तीन वर्षे कार्यकाल अर्को साताबाट सकिँदैछ। मंसिर ६, ७ र ८ गते पोखरामा हुने सातौँ महाधिवेशनसँगै उनी अध्यक्ष पदबाट विदा हुने तर्खरमा छन्। समग्रमा उनको तीन वर्षे कार्यकाल कस्तो रह्यो त? पछिल्लो समय फोहोरी हुँदै गइरहेको नेपालको लोकदोहोरी क्षेत्रलाई उनले कति जोगाउन सके? नेपाल लाइभका लागि अनिल यादवले उनीसँग गरेको छोटो कुराकानीः
तीन वर्षे कार्यकाललाई फर्केर हेर्दा के गर्न सकियो, के गर्न सकिएन भन्ने लागिराछ?
मैले जे सोचेको थिएँ, जे परिकल्पना गरेको थिएँ, त्यो केही पनि गर्न सकिएन भन्ने लागिरा’छ।
जस्तो?
मैले लोकदोहोरी क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई पूर्ण रुपमा नियन्त्रण गर्छु, गीत–संगीतको सेन्सर बोर्ड स्थापना गर्न सरकारलाई दबाब दिएर लागू गराउँछु भन्ने सोचेको थिएँ। लोकदोहोरी संगीतलाई अझै मर्यादित र व्यवसायिक बनाउँछु भन्ने थियो। कलाकारलाई परेको जस्तोसुकै अप्ठेरोमा पनि सहयोग गर्न सक्ने हैसियतमा संस्थालाई पुर्याउँछौं भन्ने लागेको थियो तर नसकिँदो रहेछ।
तपाईंले उठाउँदै आइरहेको गीत–संगीतमा सेन्सर गर्नुपर्छ भन्ने विषय त अलि असुहाउँदो भएन र?
हाम्रो देशको संस्कृति कस्तो बनाउने भन्ने स्वअधिकार त हाम्रै देशसँग हुनुपर्यो नि। संस्कृति कस्तो बनाउने भन्ने विषयमा कहीँ पनि स्वतन्त्रता हुन्न। सेन्सरका विषयमा तपाईं लगायत केही पत्रकार साथीहरुले सामाजिक संजालमा लेखेको मैले देखेको थिएँ। सेन्सर बोर्ड भनेको कसैलाई बन्धन बनाउनका लागि या कसैलाई बाँध्न या पर्खाल लगाउनका लागि ल्याउनुपर्यो भनेको होइन, भएको कुरालाई बिग्रन नदिनका लािग ल्याउनुपर्यो भनेको हो। हामीसँग भएको कला–संस्कृतिलाई भत्किन नदिन यो आवश्यक छ भन्ने मलाई लाग्छ।
तर सेन्सर बोर्ड भन्नेवित्तिकै यो त कलालाई नियन्त्रण गर्ने नियत होइन र?
सेन्सर भनेको गीत–संगीतको संरक्षणका लागि हो भनेर बुझ्दा पनि हुन्छ होला। तपाईं पत्रकार साथीहरुले बोल्ने भाषा र बुझ्ने कुरा हो यो। तर प्रायः कलाकार र सर्जकहरु केही न केही एउटा मापदण्ड भइदिए हुन्थ्यो भन्ने नै चाहन्छन्। अहिलेलाई यति बुझ्नुस्, योभन्दा धेरै बहस गरिनँ म।
तीन वर्षअघि तपाईं दोहोरी प्रतिष्ठानको अध्यक्ष उठ्नुअघि राजधानीका दोहोरी साँझमा रिपोर्टिङ गर्दा ‘दोहोरी फोहोरी’हुँदै गइरहेको पाइएको थियो। तपाईंले यसलाई सुधार्ने बताउनुभएको थियो, सकिएन है?
त्यही त। दोहोरी साँझमा काम गर्ने जति पनि कलाकारहरु हुनुहुन्छ, वाद्यबाधनमा काम गर्ने जति पनि हुनुहुन्छ, उहाँहरुको पक्षमा मैले केही पनि गर्न सकिनँ। म उहाँहरुसँग माफी चाहन्छु तर म पदमा रहे पनि नरहे पनि उहाँहरुको हकहितका लागि सधैं अगाडि भएर सहयोग गर्छु। उहाँहरुलाई अप्ठेरो पर्दा सधैं मलाई सम्झिनु होला। त्यसका लागि बद्री पंगेनी प्रतिष्ठानको अध्यक्ष भइरहनु पर्दैन।
तपाईंको कार्यकालमा अरु केही नभए पनि १ करोड १५ लाखमा आफ्नै भवन भने बनेछ, हैन?
भवन बनेको कुरालाई पनि यति ठूलो इस्यु बनाउनुपर्छ भन्ने मलाई लागेको छैन। ३८–४० हजार सदस्य भएको कलाकारको संस्थाको एउटा भवन बन्नु ठूलो कुरा होइन। बुढानीलकण्ठमा हामीले दुई रोपनी चार आना जग्गा पाउने प्रक्रियामा छौँ। अहिले बनेको त घर हो, मुख्य भवन त त्यता बनाउने सोच छ। त्यसैले बद्री पंगेनीले घर बनायो भन्ने कुरालाई चाहिँ त्यति धेरै नउचाल्न म आग्रह गर्छु। यो ठूलो कुरा होइन, हाम्रो लागि सामान्य काम हो।
अब नयाँ कार्यसमिति निर्वाचित हुँदैछ। तपाईंको उत्तराधिकारी को हो त (हाँस्दै)?
मैले ठ्याक्कै यो भन्नुभन्दा पनि चुनावपछि हाम्रा १२ सय ८० जना महाधिवेशन प्रतिनिधिले यसको जवाफ सार्वजनिक रुपमा सबैले थाहा पाउने गरि दिने नै छन्, प्रतिक्षा गर्नुहोला (हाँस्दै)।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।