एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र कतारका सेख तमिम बिन हमाद–अल–थानीले अमेरिकाको राजधानी वासिङटनमा भेटवार्ता भएको छ ।
साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्सले करिब ३ महिनायता कतारमाथि लगाएको नाकाबन्दीपछि उत्पन्न तनावबारे दुवैबीच छलफल भएको थियो । छिमेकीले वायु तथा सामुद्रिक क्षेत्रमा समेत कतारमाथि नाकाबन्दी लगाएका छन् ।
संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिन गएका कतारका सेख थानीले र अमेरिकी राष्ट्रपति ट्रम्पसँग नाकाबन्दीबारे छलफल गरेका हुन् ।
भेटमा कतारी सेख थानीले कतारविरुद्ध छिमेकी देशको नाकाबन्दीबाट उत्पन्न परिस्थितिबारे ट्रम्पलाई जानकारी गराएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले छिट्टै कतारको समस्या सुल्झने आश्वासन दिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सेख थानीले कतारका समस्याबारे छलफल गर्नुका साथै समाधान निकाल्न अमेरिकी मध्यस्थताका लागि ट्रम्पसँग आग्रह गरेको बताइएको छ ।
भेटवार्तामा अमेरिकाको आतंकवादविरोधी जारी अभियानमा सघाउन राष्ट्रपति ट्रम्पले सेख थानीसँग आग्रह गरेका थिए । आतंकवादविरुद्ध अमेरिका–कतार दुवै मिलेर काम गर्नेसमझदारी भएको ह्वाइटहाउसले जनाएको छ ।
गत जुन ५ मा साउदी अरेबिया नेतृत्वमा छिमेकी देशहरूले कतारसँग कूटनीतिक सम्बन्ध तोडेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।