दाङ – नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरुले दाङमा अत्याधुनिक हतियार छाडेर भागेको प्रहरीले दाबी गरेको छ।
दाङबाट कपिलवस्तु स्थानान्तरण गर्ने क्रममा छोडिएको सो हतियार आफुले बेवारिसे अवस्थामा फेला पारेको भनाइ प्रहरीको छ। सूचनाका आधारमा प्रहरीले निरन्तर निगरानी गरेको र सोही निगरानी पत्तो पाएपछि विप्लवका कार्यकर्ता हतियार छाडेर भागेको प्रहरीले दाबी गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी विनोद बिक्रम शाहका अनुसार प्रदेश ५ प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले शिवराज नगरपालिका वडा नम्बर १ कालाकाटे क्षेत्रको एक खाली गोठमा लुकाएर राखेको अवस्थामा पाँच थान एसएमजी राइफल, १३ गान म्याग्जिन, त्यसमा लाग्ने ३९० राउण्ड गोली बरामद गरेको हो। ‘सुटकेशभित्र राखिएको अवस्थामा एसएमजी राइफल भेटिएको छ’ डिएसपी शाहले भने ‘कुन प्रयोजनका लागि कहाँ लग्न थालिएको हो भन्ने बारेमा थप अनुसन्धान गरिरहेका छौं।’
दाङमा प्रहरीले यस अघि राजपुर–४ मगरैनाबाट केही दिन अघि विप्लवका केन्द्रीय नेतासहित २१ जनालाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।