एजेन्सी- पाकिस्तानको अकाउन्टेबिलिटी कोर्टले अर्थमन्त्री इस्हाक डारविरुद्ध पक्राउ आदेश जारी गरेको छ।
नेसनल अकाउन्टेबिलिटी ब्युरो (एनएबी) ले अकूत सम्पत्ति कमाएकोमा दायर गरेको मुद्दाको सुनुवाइमा अर्थमन्त्री डार उपस्थित नभएपछि अदालतले पक्राउ आदेश जारी गरेको हो। तर अदालतले डारविरुद्ध गैरजमानती वारेन्ट भने जारी गरेको छैन।
मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश मोहम्मद बसिरले डारसँग १० लाख पाकिस्तानी रुपैयाँ धरौटी राख्न पनि आदेश दिएका छन्।
न्यायाधीश बसिरले डारलाई सेप्टेम्बर २५ भन्दा अघि अदालतमा उपस्थित हुन आदेश दिएका छन्।
डारका तर्फबाट उनका प्रोटोकल अफिसर फजल डाड अदालतमा उपस्थित भएर डार अहिले विदेशमा रहेको बताएका थिए।
सुनुवाइमा एनएबीका वकिलले अदालतमा उपस्थित नभएकाले डारविरुद्ध पक्राउ आदेश जारी गर्न माग गरेका थिए। सुनुवाइका दौरान संघीय अदालत परिसरमा पत्रकार र क्यामेराम्यानलाई पस्न दिइएको थिएन।
अदालतले स्रोत नखुलेको सम्पत्तिबारे सोध्न अदालतले बुधबार इजलासमा उपस्थित हुन दिएको आदेशको बेवास्ता गर्दै डार लन्डन गएकाले पनि उनीविरुद्ध पक्राउ आदेश जारी गरिएको हो।
लाहोरको एनएबीले पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानलाई डारका सबै बैंक खाता रोक्का गर्न पत्र पठाएको थियो।
एनएबीका अनुसार छोटो समयमा नै डारको सम्पत्ति करिब सय गुणा बढेको देखिएको र आयका स्रोतभन्दा सम्पत्ति धेरै देखिकाले उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी छानबिन थालिएको हो।
एनबी स्रोतका अनुसार डार र उनको परिवारसँग अहिले ८३ करोड ९० लाख पाकिस्तानी रुपैयाँ बराबरको सम्पत्ति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।