गुल्मी- गुल्मीको चन्द्रकोट गाउँपालिका-३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका-८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र सोही ठाउँका माधव सुनार रहेको प्रहरीले जनाएको छ। तीन जनाको सामूहिक हत्या गरेपछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घले र केन्द्रिय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले बुधवार राति पोखराको हेम्जाबाट पक्राउ गर्न सफल भएको हो।
हत्यामा संलग्न एक जना भने अझै फरार रहेको हुँदा निजको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ। हत्यामा संलग्न व्यक्तिहरू दुई सातापछि पक्राउ परेका हुन्।
मृतकको पहिचान
चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा हत्या भएका तीनै जनाको शवको पहिचान खुलेको छ।
मृतकहरूमा मोरङ जिल्ला कानेपोखरी-३ हरकपुर घर भई हाल पोखरा उपमहानगरपालिका-२५ लामाचौतारामा डेरा गरी बस्ने ३२ वर्षकी सरिता लिम्बू र निजका जुम्ल्याहा छोरीहरू सात वर्षीया गङ्गा मगर र जमुना मगर रहेको बताइएको छ। तीनै जना गत कात्तिक १६ गते चन्द्रकोट-३ अन्तर्गत हर्राचौरको आलुखरिया जङ्गलमा मृत अवस्थामा फेला परेका थिए।
उनीहरूको हालसम्म कुनै नाम‚ थर र वतन नखुलेका कारण शवको पहिचान हुन नसेकेपछि पाल्पा अस्पतालको चिस्यान केन्द्रमा राखिएको छ। हत्यामा संलग्न भएकाहरूलाई पोखराबाट जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइँदै छ। उनीहरूलाई ल्याइसकेपछि मात्र पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताएका छन्।
रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।