काठमाडौं– नेपाल प्रहरीको लागि नयाँ खरिद भएका ५ वटा ‘वाटर क्यानोन’को प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार परीक्षण एवम् प्रदर्शनी भएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए।
उक्त अवसरमा ‘वाटर क्यानोन’द्वारा सेल्फ स्प्रे प्रदर्शन, ५५ मिटर दूरी तथा ३० मिटर दूरीमा पानीको फोहरा प्रदर्शन र भिडमा सहभागीको पहिचान हुन सहज होस् भन्न प्रयोग गरिने विभिन्न रङयुक्त फोहरा प्रयोग प्रदर्शन भएको थियो।
नेपाल प्रहरीका लागि हाल ५ वटा नयाँ ‘वाटर क्यानोन’ खरिद भएका छन्। यसअघि १ वटा ‘वाटर क्यानोन’ रहेको थियो। उत्तेजित भिड तथा अग्नी नियन्त्रणमा प्रयोग हुने प्रत्येक नयाँ ‘वाटर क्यानोन’मा १८ वटा अश्रु ग्याँस सेल र ७ हजार ४ सय लिटर पानी अट्ने क्षमता रहेको छ। ‘वाटर क्यानोन’मा ‘अपर क्यान’ र ‘लोअर क्यान’ रहेका छन्।
‘अपर क्यान’मा ५५ मिटरको दुरीसम्म र ‘लोअर क्यान’मा ३० मिटरको दूरीसम्म पानीको फोहरा फाल्न सक्ने क्षमता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।