काठमाडौं– अभिनेताद्वय सलोन बस्नेत र आमेश भण्डारी अभिनयमात्रै गर्दैनन्, गीत पनि गाउँछन्। दुवैले लिड रोलमा अभिनय गरेका फिल्मले सुखद नतिजा प्राप्त गर्न नसकिरहेका बेला उनीहरु गायनमा सक्रिय देखिएका छन्।
दुई वर्षअघि ‘रुम नम्बर १०८’ बोलको गीत निकालेका उनीहरु अहिले फेरि दर्शक/श्रोतामाझ नयाँ गीत लिएर आएका छन्। ‘मेरो लागि तिमी’ बोलको गीत ल्याएका हुन्। गीतमा उनीहरुकै अभिनय छ। शब्द पनि उनीहरुकै हो। संगीत भने रोमन बज्राचार्यले भरेका छन् ।
‘अभिनय र गायन दुवैमा मेरो लगाव छ। अभिनयमा अलिक बढि नै समय दिनुपरेकोले गायनमा खासै आउन सकेको थिइनँ, अब भने केहि गीतहरु लेख्ने तथा गाउने योजना बनाईरहेको छु,’ सलोनले भने।
उता अभिनेता भण्डारी भने निरन्तर गीत/संगीतमा लाग्ने योजना रहेको बताउँछन्।
सलोन–आमेशको हालै सार्वजनिक नयाँ गीतले युवतीप्रतिको आकर्षण दर्शाउँछ। गीतको भिडियोलाई सुशिल बाबु क्षेत्रीले निर्देशन गरेका छन् भने दिन्सन शाहको सम्पादन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।