द्रुत गतिमा गुडिरहेको रेलमा सुतिरहेको १३ वर्षीय बालक आफ्नो आमासँग टाँसिएर रुन लाग्यो। 'आमा मलाई रेल गाडीसँग धेरै डर लाग्छ। हामी हाम्रो घर जाऔं न।'
सरदार बेगम आँखालाई कतै डुलाइरहेकी थिइन्। उनी सानो कोठामा नदेखिएको कुनै छाया खोज्ने कोसिस गर्दै थिइन्। उनले आफ्नो बच्चालाई कसेर छातिमा टाँसिन्। रेल गुडिसकेको थियो तर सहरको भयमय आवाजले अहिलेसम्म दुवैको कान झंक्रित भइरहेको थियो।
'आमा, म बाको गाली र पिटाइ सधैं खान तयार छु। कहिल्यै दुख्यो भन्दिनँ। प्लिज हामी जाऔं। भगवानको लागि भए पनि हामी यहाँबाट घर फर्कौं।'
'अब यही हाम्रो घर हो। हामीलाई यहीँ रहनुछ। बाबु, मामुले निर्णय गरिसकेको छु। अब आफ्नु बाबालाई भुलिदेऊ। उनी खराब मान्छे हुन्। किनकि, उनी तिमीलाई प्रेम गर्दैनन् घृणा गर्छन्। उनले तिमीलाई मार्ने बाचा गरेका छन्,' सरदार बेगमले एकै सासमा सबै कुरा भनिरँदा उनको आँखाबाट आँसु बगिरहेको थियो।
आमा रोएको देखेपछि अब्दुल हई पनि जोड जोडले रुन थाले।
'मामु बाचा गर्नुस्। तपाईं मलाई छाडेर कहीँ जानुहुन्न'
'म बाचा गर्छु बाबु। तिमीलाई छाडेर कतै जान्न।'
बकौल निदा फाजलीले भनेका छन्, 'हरेक मान्छेभित्र दस/बिस मान्छे हुन्छन्। कसैलाई हेर्नु छ भने धेरैपल्ट नियाँलेर हेर।' बचपनको घटनाले अब्दुलको आउनेवाला समयलाई बलियो बनाइदियो। जब उनी साहिर लुधयानवीको नामबाट दुनियाँमा प्रसिद्ध बने, उनीभित्रको धेरै साहिर अनौठा रुपमा बाहिर आए।
अनौठा साहिर
साहिर एक यस्ता व्यक्ति थिए, जसको बालापनको संघर्षले नै उनलाई समयभन्दा पहिल्यै ठूलो बनाइदियो। साहिरको हृदय र मस्तिष्कमा मुलुकको द्वन्द्व र विभाजनले सानैमा गहिरो छाप छाड्यो। उनको जन्म लुधियाना (पञ्जाव)मा भएको थियो। उनको पिताका धेरै पत्नी थिए। तर छोरा एउटै मात्र। साहिर ८ वर्षको हुँदा उनको बाबुले आमालाई छाडिदिए। यस घटनाले साहिरलाई ठूलो चोट दियो। त्यसकारण उनमा बाल्यकालदेखिनै भावुक र विद्रोही स्वभाव देखापर्यो। सानैदेखि साहिर कुनै न कुनै कला वा सिर्जनामा जोडिन्थे। बाल्यकालदेखि नै साहिरले लेख्न सुरु गरे र लुधियानाको सरकारी कलेजमा पढ्दाताका उनी आफ्नो कविताका कारण लोकप्रिय बने।
साहिरको १९४५ मा २४ वर्षको उमेरमा पहिलो पटक 'तल्खियां' कवितासंग्रह प्रकाशित भयो। यस संग्रह मन पराउनेहरूले हाता हात लिए। यो संग्रह देशभर रातारात प्रसिद्ध बन्यो।
उर्दूका साथै हिन्दीमा पनि यसको संस्करण प्रकाशित भयो। त्यसपछि उनको अन्य पुस्तकहरू प्रकाशित भए। 'आओ कि को ख्वाब बुनें' साहिरको त्यो पुस्तक हो, जसले उनको ख्यातिलाई बलशाली बनायो।
यस संग्रहले साहिरलाई धेरैको प्रेम मिल्यो भने केही समीक्षकको आलोचना पनि।
'तल्खिया', 'परछाइयां', 'आओ कि कोइ ख्वाब बुनें' जस्ता पुस्तकमा साहिरको गजल र सायरी संकलित छन्। 'तो गाता जाए बञ्जारा'मा उनका सारा फिल्मका गीत संकलित छन्।
गीतमा पनि साहिरका गज्जबका कविता छन्। उनका धेरै गीत आज पनि सबैको हृदयमा उतिनै प्रिय गरी गुञ्जिरहन्छन्।
मैं जिंदगी का साथ निभाता चला गया
हर फिक्र को धुएं में उड़ाता चला गाया
जब साहिरले लेख्न सुरु गरेका थिए। त्यस समय फैज, फिराक लगायतको दब्दबा थियो।
यद्यपि, उनले अपनाएको विशेष स्वर र दृष्टिकोणबाट आफ्नै शैली सिर्जना गरे र एक ठूलो नाम पनि भए।
त्यसैगरी उनी उर्दू अखबार 'अदबे-अतीफ', 'शाहकार' र 'सवारो' को सम्पादक समेत भएका थिए। 'सेवारा'मा उनले पाकिस्तानी शासकको विरुद्ध लेखेर जोखिम मोलेका थिए। त्यसको परिणामस्वरुप उनलाई गिराफ्तारिको वारेन्ट जारी भयो। उनी हिन्दुस्तान आएर प्रगतिशील लेखकको जमातमा सहभागी भए।
मित्र साहिर
साहिरका पिता रइस जमिन्दार थिए। साहिरले पनि खुबै इनाम र धन कमाएर साथीका लागि खर्च गरे। साहिरलाई महफिल जमाउनेको ठूलो शोख थियो। रातभर चलिरहने रेस्टुराँमा साहिर महंगो रक्सीका साथ उम्दा शेर सुनाउँथे। मेहेफिलमा सरिक हुने राजिन्दार सिंह बेदी, कृष्ण चन्दर, सरदार जाफरी र जांनिसार 'अख्तर'हरू हुन्थे।
एक साथीको नाम मुक्तिदा हसन निदा थियो। पछि उनी निदा फाजलीको नामले चर्चित भए। निदा फाजलीले आफ्नो पुस्तक 'एक जवान मौत' मा यी महफिलको बारेमा जबरजस्त वर्णन गरेका छन्। साहिरको एउटै विचारमा अडिग रहने आदत थियो। उनी आफ्नो तारिफ सुन्न निकै रुचाउँथे। उनी प्रत्येक सायरको मजाक उडाउँथे र आफ्नो साथीको गालीले खुब सताउँथे। आफ्नो साथी र नौजवान सायरोलाई दरबारीको हैसियतले हेर्ने साहिरको नजर सायद उनको जमिन्दार बाबुबाट मिलेको थियो।
जान्निसार अख्तर साहिरको सबैभन्दा ठूलो दरबारी थिए। उनलाई बस्न खान-पिउन सबै साहिरको जिम्मेवारीमा पर्दथ्यो। र साहिरको कुरामा हो मा हो मिलाउने जानिसार थिए।
साहिरलाई आफ्नो एक्लोपनदेखि डर लाग्दथ्यो। र जानिसार उनको यस डरको कम गराउने माध्यम थिए। यसको लागि उनलाई हरेक महिना निश्चित रकम पनि मिल्दथ्यो। दोस्रोको सहयोग गर्न साहिरलाई मुस्किल थिएन र जानिसार केवल उनको साथी मात्र थिएनन् आवश्यक भन्दा ज्यादा शेर लेख्नेवाला सायर पनि थिए। साहिरलाई एउटा पंक्ति सोच्न जति समय लाग्थ्यो जानिसार त्यति समयमा २५ पंक्ति सोचिसक्थे।
जानिसारले एक समय एउटा फिल्म बनाएका थिए- बहु बेगम।
यस फिल्मको गीत साहिरको नाममा थियो। यो फिल्ममा गीतकार जानिसारले साहिरको लिनका लागि मानेनन्। कारण कमर्सियल थियो। निदा लेख्छिन्, 'जानिसार सावधानी अपनाउने खालका व्यक्ति थिए। र उनले घरको कुरा बाहिर निकाल्न चाहेनन्। तर एउटा शेरमा इसारा गरेका छन्-शायरी तुझको गंवाया है ब दिन हमने.(सायरी तिम्रा लागि धेरै दिन गुमाएको छु मैले)। अहिले न जानिसार छन्, न साहिर नै। जो 'बहू बेगम'को र बाँकी गीतको वास्तविकता बताऊन्।'
फेरि एकदिन कुनै कुरामा साहिरले आफ्नो 'दरबारी' मित्रको गाली गलौज गरेर घरबाट धक्का दिएर बाहिर निकालिदिए। उनको महफिलमा कुनै सायरको तारिफ गर्नु भनेको उनी आफ्नो बइज्जती ठान्थे। र यही कारण एक पटक निदा फाजली पनि घरबाट बाहिर निकालिएका थिए।
अमृता प्रितम र सुधा मल्होत्राका साहिर
साहिरको कयौंपटक प्रेम बस्यो तर कसैसँग पूर्ण हुन सकेन। साहिरले जीवनभर प्रेमबारे धेरै सायरी लेखे। तर, स्वयम् भने जीवनभर एक्लो रहे।
जब जीवनको हरेक सपना लक्ष्य वा साहारा एकपछि अर्को गर्दै टुक्रँदै गए, समय र परिस्थितिले शरारती अब्दुल हाई सञ्जीदालाई साहिर लुधियानवी बनायो।
साहिरले जिन्दगीको तमाम रंगको यसरी अपनाए कि जीवनमा जस्तो पीडा आए पनि उनी सहजै स्विकार्न सक्थे।
साहिरको सबैभन्दा पहिलो प्रेम चौधरीसँग भएको थियो। जसको बाबुले उनलाई लाहोर कलेजबाट निकालिदिएका थिए। त्यसपछि उनको जीवनमा आइन् इसर कौर। केही दिन प्रेम चलिरह्यो तर यो पनि अधुरै रह्यो। अमृता प्रितमले आफ्नो रसिदी टिकटमा साहिरको प्रेमबारे लेखेकी छन्।
साहिर र अमृता दुवैको आफ्नो किसिमको व्यक्तित्व थियो। दुवै सायरीका उस्ताद। साहिरले अमृतासँगको प्रेम दुनियाँमा कहिल्यै देखाउन चाहेनन्। तर अमृताले केही नलुकाइकन हिम्मत गरिन्। 'साहिर घण्टौं बसिरहन्थे सिगरेट तानेर। उनी गइसकेपछि उनको बचेको सिगरेटको टुक्रा म सम्हालेर राख्थेँ। अनि एक्लो हुँदा त्यो टुक्रा पिउँथे र साहिरको हात, ओठ महसुस गर्थेँ। जब म इमरोजको बच्चाको आमा बनेँ मेरो सन्तानलाई साहिर जस्तो हुने आदत्त थियो।'
एक पटक एउटा अन्तर्वार्तामा उनले भनेकी थिइन्, 'यदि इमरोज मेरो शीरको छानो हो त साहिर मेरो आकाश।' अमृताले साहिरको धेरै प्रतीक्षा गरिन् तर साहिर आएनन्।
यसैबीचमा सुधा मल्होत्रासँग पनि साहिरको प्रेम बस्यो। ५०-६० को दशकमा उनी चर्चित मारुफ गायिका थिइन्। सुधाले गाएको एउटा गीत छ, 'तुम मुझे भूल भी जाओ तो ये हक़ है तुमको. मेरी बात और है मैंने तो मोहब्बत की है...'।
यो साहिरले नै लेखेका थिए। साहिरले उनलाई पनि भुलिदिए।
साहिरको एउटा कमजोरी थियो कि उनी निर्णय एक्लै लिन पाउँदैन थिए। उनलाई कुनै न कुनै साथीको आवश्यक पर्दथ्यो। त्यसैले उनको प्रेम सधैं अधुरो नै रहने गर्दथ्यो। कोही यस्तो पनि भन्थे कि साहिर आफ्नो प्रेमलाई अधुरो यसकारण छाड्थे कि उनी आफ्नो सायरीलाई उम्दा बनाउन सकुन्। अचम्म त यो थियो कि उनी आफ्नो प्रेमिकाको लागि प्रेममा हदै भइदिन्थे। साहिर र जानिसारको मित्रता टुट्नुको कारण यो पनि थियो कि जानिसारले साहिरको पुरानो प्रेमिकासँग सम्बन्ध अगाडि बढाइरहेको उनले थाहा पाए।
सिनेमा का साहिर
लाहौरमा छापिएको 'तल्खिया' को ख्याति बम्बई सम्म थियो। बम्बईमा साहिरले प्रेम धवनको साथ पाए।
धवनले आफ्नो साथ लिएर गएर उनलाई निर्माता र संगीतकारसँग मिलाउँथे। यही क्रममा १९४५ मा रिलिज भएको फिल्म 'दोहारा'मा उनलाई पहिलो गीत लेख्ने अवसर मिल्यो।
‘मोहब्बत तर्क की मैंने, गिरेबां सी लिया मैंने
ज़माने अब ख़ुश हो ज़हर ये पी लिया मैंने’
तर यो यात्रा सजिलैगरी बढ्नेवाल थिएन। साहिरको फनको फिल्म 'वाले सञ्जीदगी'मा लिइएको थिएन। साहिर यस घटनापछि आफ्नो विचारमा अडिग रहे। उनले अडिग लिए, 'लेख्छु त आफ्नै सर्तमा। लेखेपछि हल्का लेख्दिनँ।'
कतै कुरा मिल्थ्य त कतै बिग्रन्थ्यो। तर साहिर आफ्नो कुरामा डटिनै रहे। अन्त्यमा १९५१मा एआर कारदार साहबको फिल्म 'नौजवान'मा साहिरले पहिलो ब्रेक पाए। उनले यस फिल्मको सबै गीत लेखे।
यहीँबाट साहिरको समय दाहिने भएर चल्यो र फिल्ममा सफल हुने निश्चित बन्दै गए। यसपछि १९५० देखि ०७५ सम्मका अधिकांश फिल्मीमा साहिरकै दब्दबा भयो। 'प्यासा', 'फिर सुबह होगी', ‘फंटूश’, ‘बाज़ी’, ‘काग़ज़ के फूल’, ‘चौदहवीं का चांद’, ‘शगुन’, ‘नया दौर’, ‘काजल’, ‘चंद्रलेखा’, ‘कभी-कभी’ लगायतका निकै यस्ता फिल्महरू बने। जुन फिल्म साहिरको गीत र कविता विना सोच्नै सकिन्न थियो। साहिर आफूलाई मनपर्ने संगीतकार विना गीतनै लेख्दैन थिए।
बलदेव राज चोपडा र यश चोपडाको लगभव सबै फिल्मको गीत साहिरले नै लेखेका छन्।
रेडियोहरूमा बज्ने गीतमा पहिले गायक र संगीतकारको नाम मात्र लिने गरिन्थ्यो। तर साहिर आएपछि गितकारको नाम पहिले लिन थालियो। उनको प्रभावका कारण गीतकारको पनि संगीत कम्पनिबाट रोयल्टी मिल्न थाल्यो।
आमाको साहिर
१९७८को साँझ। बिस्तरामा बिमारी आमाको हात समाउँदै अब्दुल हईले भने, 'आमा। मलाई एक्लै नछोड्नु। हजुरले बाचा गर्नु भएको छ मेरो साथ रहने।'
सरदार बेगमले आफ्नो दुई आखाले साहिरको तारिफ देखिन् र भनिन्, 'एकदिन त सबैको जानैपर्छ।'
'म हजुरबिना रहन सक्दिनँ। म एक्लो हुनेछु।'
'किन? अब त सारा मानिस छन् तिम्रो साथमा। यतिधेरै आँटिलो छौ तिमी। तिम्रो नामको सबैतिर चर्चा छ। अब कसरी एक्लो हुन्छौ?'
'म अझै पनि यस हल्लाको बीच रेलको गडगडाहट सुन्छु। अनि मलाई डर लाग्छ। हामी आफ्नो घर चलौं आमा।'
आमाले सायद प्रेम धवनको गीत, ‘जीना यहाँ, मरना यहाँ, इसके सिवा जाना कहाँ’ गुनगुनाउँदै गरेका अब्दुल हईलाई बुझ्न सकिन् र टोलाएर एकनास हेरिरहिन्।
देशका साहिर
समयको माग हुथ्यो भने सायरको कलम शृंगारको ठाउँमा अंगार लेख्न लाग्थ्यो। साहिरले पनि जब सामाजिक यथार्थको चित्रण गर्दै असफलता लेखे, ठूलाहरूको अन्याय लेखे, कमजोरमाथि भएको अत्याचारबारे लेखे।
जरा मुल्क के रहबरों को बुलाओ
ये कूचे ये गलियां ये मंजर दिखाओ
जिन्हें नाज है हिंद पर उनको लाओ
जिन्हें नाज है हिंद पर वो कहां हैं?
अक्टोबर १९८० मा साहिरले सबैलाई छाडेर गए। त्यतपबेला विह्वल हुँदै मानिसहरूले उनलाई भने 'अभी न जाओ छोड कर कि दिल अभी भरा नहीं'। साहिरले नै लेखेको यो मनप्रिय र चर्चित गीत। साहिरको वियोगमा सबैले यही गीतमार्फत् साहिरलाई पुकारे। तर, साहिर अर्को यात्रामा निस्किसकेका थिए सदा सदाका लागि।
साहिर सायरी, कविता र गीतसँगै बाँचिरहेका छन् सबैको हृदयमा। र बाँचिरहेका छन् सच्चा प्रेमीहरूको हृदयमा। उनी प्रेमको एउटा असल पात्र थिए भन्ने कुरा सबैले सम्झिरहने छन्।
[ यो सामग्री समर्पण श्रीले भावानुवाद गरेका हुन् ]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।