एजेन्सी - मेक्सिकोमा मंगलबार गएको शक्तिशाली भूकम्पमा २ सय १६ जनाको मृत्यु भएको छ।
प्रायः भूकम्प गइरहने मेक्सिकोमा सन् १९८५ मा गएको भूकम्पको सम्झनामा गरिएको कार्यक्रमलगत्तै मंगलबार देशको मध्य भूभागमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
स्थानीय समयअनुसार भूकम्प दिउँसो १ बजेर १४ मिनेटमा गएको थियो । भूकम्पको धक्का महसुस गर्नासाथ हजारौं सर्वसाधारण सडकमा निस्केका थिए । भूकम्पमा राजधानी मेक्सिको सिटीका दर्जनौं घर भत्केका छन्।
राष्ट्रपति एनरिके पेना निटोले भूकम्पमा राजधानीको दक्षिणी कोआपा जिल्लास्थित एनरिके रेब्सामेन स्कुल भत्कँदा २० केटाकेटी र २ वयस्कको शव फेला परेको बताए । उनले अरु ३० जना केटाकेटी र ८ जना वयस्क बेपत्ता भएको बताए।
भूकम्पले राजधानी वरपरका प्रान्तमा समेत क्षति पु¥याएको छ।
३२ वर्षअघि गएको भूकम्पमा राजधानी मेक्सिको सिटीमा १० हजारभन्दा बढीको मृत्यु भएको थियो । त्यसैको सम्झनामा गरिएको कार्यक्रम सकिएलगत्तै त्यहाँ भूकम्प गएको थियो।
मेक्सिकोको दक्षिणी भूभागमा यसै महिनाको सुरुमा ८.१ म्याग्निच्युडको भूकम्प जाँदा ९० जनाको मृत्यु भएको थियो ।
बुधबार गएको भूकम्पको केन्द्रविन्दु मेक्सिको सिटीबाट करिब १ सय २० किलोमिटर टाढा पुएब्ला प्रान्तको एटेन्सिंगो नजिक सतहभन्दा ५१ किलोमिटर मुनि रहेको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।
त्यहाँको नेसनल कोअर्डिनेटर फर सिभिल प्रोटेक्सनले भूकम्पमा मर्नेको संख्या सुरुमा करिब २ सय ५० बताए पनि पछि भूलसुधार गरी २ सय १६ जना बताएको छ ।
भूकम्पमा मोरलोस प्रान्तमा ७१ जना, पुएब्ला प्रान्तमा ४३ जना, मेक्सिको सिटीमा ८६ जना, मेक्सिको प्रान्तमा १२ जना, गुरेरो प्रान्तमा ३ जना र ओक्साका प्रान्तमा एक जनाको मृत्यु भएको छ
भूकम्पपछि राजधानी मेक्सिको सिटीमा विद्युत आपूर्ति र टेलिफोन सेवा अवरुद्ध हुँदा करिब २० लाख मानिस अध्याँरोमा बस्न बाध्य भएका छन् ।
सडक र गल्लीमा ग्यास लाइन फुटेर चुहिएको हुनसक्ने भएकाले सडकमा चुरोट बिंडी नखान सरकारी अधिकारीले सर्वसाधारणसँग आग्रह गरेका छन् ।
राष्ट्रपति पेनाले भूकम्पग्रस्त क्षेत्रमा संकटकाल घोषणा गरी राहत र उद्धारका लागि सेना खटाएको पनि बताए ।
सन् १९८५ मा के भयो ?
३२ वर्षअघि सन् १९८५ मा राजधानी मेक्सिको सिटीमा गएको शक्तिशाली भूकम्पमा १० हजारभन्दा बढीको मृत्यु भएको थियो भने ३० हजार घाइते भएका थिए ।
भूकम्पमा राजधानी र वरपरका क्षेत्रमा ४ सय भन्दा बढी घर ध्वस्त हुनाको साथै हजारौं क्षतिग्रस्त भएका थिए। मेक्सिको सिटी विश्वकै अत्यधिक जनघनत्व भएको सहरमा पर्छ । त्यहाँको महानगरीय क्षेत्रमा नै २ करोडभन्दा बढी मानिसको बसोबास छ।
मेक्सिकोमा किन धेरै भूकम्प जान्छ ?
मेक्सिको विश्वकै सर्वाधिक भूकम्प जाने क्षेत्र (सिस्मिकली एक्टिभ रिजन) मा पर्छ । मेक्सिको पृथ्वीका ठूला टेक्टोनिक प्लेटमध्ये तीन– द नर्थ अमेरिकन, कोकोस र प्यासिफिक प्लेटमाथि अवस्थित भएकाले त्यहाँ भुँइचालो गइरहन्छ।
मंगलबारको भूकम्पको केन्द्रविन्दुको १ सय ५५ माइल वरिपरिको क्षेत्रमा सय वर्षयता कम्तीमा ६.५ म्याग्निच्युडका १९ वटा भूकम्प गएको युएस जियोलोजिकल सर्भेले जनाएको छ।
यो पनि: दशकअघिको भूकम्प स्मृति गरिरहेका बेला मेक्सिकोमा शक्तिशाली धक्का, २४० वर्षको भूकम्प इतिहास (सूचीसहित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।