काठमाडौं– कात्तिक ९ गते राति महाराजगञ्जमाबाट पक्राउ परेका २५ भिआइपी जुवाडेको सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ।
२५ भिआइपी जुवाडेमध्ये पहिलो पटक पक्राउ परेकालाई ३० हजार र पटके जुवाडेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने निर्णय सोमबार जिल्ला प्रशासन कार्यालयले गरेको थियो।
रिहा गर्न आदेश दिएलगत्तै महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। सम्पत्ति शुद्धीकरणले छानविन गर्नुपर्ने भन्दै आफ्नो कार्यालयमा उपस्थित गराउन भनेर पत्र पठाएपछि उनीहरुलाई पक्राउ गरिएको थियो।
पक्राउ परेका २५ जना जुवाडेलाई अहिले सम्पत्ति शुद्धीकरण लगिँदै गरेको महाराजगञ्ज वृत्तका डिएसपी उमेश लम्सालले जानकारी दिए।
क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटा ‘बले’ ठेकेदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामालगायत २५ जना जुवा खेल्दै गर्दा पक्राउ परेका थिए।
उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।