काठमाडाैं- बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलबार नेपाल भ्रमणमा आउँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्। चार दिने भ्रमणमा आउन लागेका उनी दिउँसाे १२:४५ बजे काठमाडाैं ओर्लिने छन्।
राष्ट्रपति हमिदकाे भ्रमणलाई लिएर काठमाडाैंकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ। ठूलाे संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे छ। हमिदको सवारीका कारण काठमाडौं उपत्यकाका केही सडकहरू प्रयोग नगर्न र चक्रपथभित्र ठूला सवारी प्रवेश नगराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ।
कात्तिक २६ देखि २९ गतेसम्म नेपाल भ्रमणमा रहने हमिदको सवारीलाई सहज पार्न भन्दै ट्राफिकले मुख्यमार्गको प्रयोग नगरी वैकल्पिक मार्गको प्रयोग गर्न, सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका सवारी नचलादिन आग्रह गरेको छ।
त्यस्तै अनावश्यक हर्न नबजाउन, ट्राफिक नियम पालना गर्न र ट्राफिकसम्बन्धी केही समस्या परे खबर गर्न अनुरोध गरेको छ। राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।