काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तेजना फैलाएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन्। उनले तथ्य, तथ्यांक, दस्तावेज, ऐतिहासिक प्रमाणहरुको संकलन केन्द्रित गरेर भारत सरकारसँगको वार्ताबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रचण्डले सीमा समस्यालाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्न नहुने बरु उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिए।
‘सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय राजनीतिक, कूटनीतिक पहल गर्नुपर्छ भन्नेसम्म एकदम ठीक छ। यदि कुरा मिलेन भने अन्तर्राष्ट्रियकरण गर्नुपर्छ। तर अहिले भन्न हुँदैन’, उनले भने, ‘भएन भने के गर्ने त्यतिबेला सोचौंला नि। अहिले हामीले गम्भीर ढंगले पहल गर्ने भनेर जाँदा तर्क र नैतिक रुपमा पनि माथि पर्छौं भन्ने मेरो सुझाव छ।’
उनले अहिले राष्ट्रिय सहमति भएकाले कूटनीति र राजनीतिक वार्ता संवादका माध्यमबाट यसको स्थायी समाधान गर्ने अनुकूल समय भएको पनि बताए।
अध्यक्ष दाहालले नेपालको एक इन्च जमिन पनि नछोड्ने र अरुको एक इन्च जमिन पनि नचाहिएको बताए।
उनले कालापानी र सुस्ताको सीमा समस्या समाधान नभइसकेको नेपाल सरकार र भारत सरकारले पनि स्वीकार गर्दै आएको बताए। सुगौली सन्धिको मान्यताअनुसार महाकाली नदीको मुहान लिम्पियाधुरा उल्लेख भएकाले त्यसमा विवाद नरहेको उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।