दार्चुला– महाकाली नदी किनारमा तटबन्ध अन्तर्गतको ६ वटा प्याकेज निर्माण अन्तिम चरणमा पुगेको छ।
तटबन्ध निर्माण तीन महिनाभित्र सम्पन्न हुने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा ठेक्का सम्झौता भएका प्याकेज नं १, २, ३, ४, ५ र ६ मा ९० देखि ९८ प्रतिशत तटबन्ध निर्माण भइसकेको छ।
यस्तै, प्याकेजज नं ७, ८, ९, १० र ११ मा चालु आर्थिक वर्ष २०७४/७५ भित्रै तटबन्ध निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको देवकोटाले जनाए। चालु आवमा तीन वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ। कोर क्षेत्रको १३ नं प्याकेज तथा अन्य क्षेत्रको १४ र १५ नं प्याकेजको काम तिहार लगत्तै सञ्चालन हुने देवकोटाले बताए।
'गत आवमा गिट्टी अभावका कारण तटबन्ध निर्माणको काम प्रभावित बन्यो,' देवकोटाले भने। आयोजनाले चालु आवमा ४० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ। चालु आवका लागि २८ करोड ५० लाख बजेट विनियोजन भएकामा १२ करोड थप खर्च गर्ने योजना रहेको देवकोटाले जानकारी दिए। बर्सेनि जिल्लाबाट अन्य विकासे कार्यालयको बजेट काम गर्न नसकी फिर्ता हुने गरेकामा महाकाली नदी नियन्त्रण आयोजनाले भने थप बजेट माग गरी खर्च गर्ने गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।