काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी र सरकार सञ्चालनमा पार्टी नेतृत्व पूर्ण रुपमा असफल भएको बताउँदै सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन्। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा लिखित मन्तव्य राख्दै नेता पौडेलले सरकार र पार्टी सञ्चालनमा सभापति असफल भएको बताए।
‘तपाईंको नेतृत्वमा न पार्टी चल्यो, न सरकार। पार्टी अहिलेसम्म अपुरोको अपुरै, एउटा पनि प्रशिक्षण, एउटा पनि संगठानात्मक गतिविधि हुन सकेन। विधान अनुसार प्रदेश अधिवेशन किन भएनन्?’ पौडेलले प्रश्न गरेका छन्।
पार्टीप्रति चिन्ता भए पद ओगट्ने काम नगर्न सभापति देउवालाई सुझाव दिँदै नेता पौडेलले संसदीय दलको नेतामा कुनै अर्को व्यक्ति अघि सार्न आग्रह गरेका छन्। केन्द्रीय समितिको निर्णयहरु कार्यान्वयन नगर्ने र उल्ट्याउने काम निरन्तर भएको बताउँदै नेता पौडेलले सोही कारण पार्टीमा संस्थागत विकास हुन नसकेको औंल्याए।
सभापतिले आफ्नो गुटको मात्र संरक्षण गर्दा निष्ठावान कार्यकर्ता उपेक्षित र कुण्ठित भएको बताउँदै नेता पौडेलले गुटको भरणपोषबाहेक सभापति देउवाले अन्य काम नगरेको आरोप लगाएका छन्।
सरकारका गलत निर्णयका कारण पार्टीले निर्वाचनमा अप्रत्यासित नतिजा ब्यर्होनुपरेको भन्दै नेता पौडेलले नेतृत्वले निर्वाचनको सही ढंगले समीक्षा गर्न आवश्यक नठानेको बताए।
बैठकमा देउवाप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका पौडेले प्रश्न गरे, ‘पार्टी हारेको होइन, उम्मेदवार हारेका हुन्, यो कस्तो कुर्तक?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।