काठमाडौं– सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणको कर्मचारी सरुवा प्रक्रिया टुंगो लगाएको छ।
पहिलो चरणमा मन्त्रालयले एक हजार ४२४ कर्मचारी सरुवा गरेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लीलाराज काफ्लेले जानकारी दिए।
उनले पहिलो चरणमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नियमित अन्तर्गतका विभिन्न मन्त्रालय, निकायमा सरुवा गरिएको बताए।
यसपटक मन्त्रालयले नियमित सरुवाभन्दा पनि स्थानीय विकास मन्त्रालयमा बढी कर्मचारीको सरुवा गरेको छ । काफ्लेका अनुसार, उपसचिव ११७ र अधिकृत ८० जना स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै, नायब सुब्बा ७६६ र खरिदार ४६१ सरुवा गरिएका छन् ।
ती सबै सरुवा मन्त्रालयले निर्वाचन आयोगको सहमतिमा गरेको हो । शाखा अधिकृत काफ्लेले सरुवा गरिएका कर्मचारीले रमाना पत्रसमेत लिन थालिसकेको बताए।
मन्त्रालयले आचारसंहिता लागेका कारणले अत्यावश्यकबाहेक अन्यमा विगत जस्तै नियमित सरुवा भने गरेको छैन । निर्वाचन आयोगले भदौमा १२ र १४ गते मन्त्रालयले गरेको सरुवा अत्यावश्यक ठाउँमा गरेको भन्दै फुकुवा गरेको थियो।
शाखा अधिकृत काफ्लेका अनुसार स्थानीय विकास मन्त्रालयले थप स्थानीय तहलाई कर्मचारी माग गरेको खण्डमा मन्त्रालयले पठाउने तयारी समेत गरेको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।