हेटौँडा– प्रदेश ३ को प्रदेशसभा बैठकमा प्रदेशसभाको कार्यविधि २०७४ को मस्यौदा प्रस्तुत गरिएको थियो।
आइतबार दिउँसो बैठक प्रारम्भ हुनासाथ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सम्बोधन गर्दै संघीय सरकार र प्रदेशसभाको छुट्टाछट्टै कार्यविधिका साथै ऐन कानूुन तर्जुमा गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेश क्षेत्रका बहुसंख्यक जनताका लागि आर्थिक समृद्धि गर्न र दिगो शान्तिका लागि प्रदेशसभाका सदस्यले दलगत स्वार्थभन्दा माथि उठेर प्रदेश सरकारलाई सहयोग पुर्याउन आग्रह गरे।
उनले प्रदेश सरकारले आफ्नो कार्ययोजना थालनी गर्न केन्द्रीय सरकारबाट खटाइएका कर्मचारी तत्काल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आउन आलटाल गरिएको कारणले सरकारले तत्कालै गर्नुपर्ने काममा बाधा पुग्न गएकामा चिन्ता व्यक्त गर्दै संसदीय प्रजातन्त्रको भविष्य उज्ज्वल पार्न प्रदेशसभाका सदस्य र दलका नेतृत्वले एजेन्डाका रुपमा अघि बढ्नुपर्ने जरुरी रहेको बताए।
बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको पूर्वाधार विकासका लागि विभिन्न मन्त्रालयबाट समन्वय गरी अघि बढ्नुपर्ने चर्चा गर्दै जनताको शान्ति सुरक्षा, आर्थिक समृद्धि गर्ने कार्यलगायत मानवअधिकारको प्रत्याभूति गर्नेतर्फ सरकारलाई प्रतिपक्ष दलले पनि निःस्वार्थ सहयोग पुर्याउने विश्वास दिलाएका थिए।
बैठकमा प्रदेशसभाको कार्यविधि २०७४ को मस्यौदा समितिका संयोजक राजेन्द्र पाण्डेले मस्यौदामा सभामुख, उपसभामुख र प्रदेशसभाका सदस्यको काम, कर्तव्य र अधिकारका साथै प्रदेशसभामा सार्वजनिक हितका विषय, आर्थिक विनियोजित विधयेक, विशेषाधिकार विधयेकलगायत २ सय १७ वटा नियम (दफा) र ६ वटा अनुसूची समावेश गरिएको बताए।
मस्यौदामाथि सोमबार संशोधनको प्रस्तावका लागि बिहान १० बजे समय निर्धारण गरिएको प्रदेशसभाका सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए। साथै मस्यौदामाथि सोमबार बिहान ११ बजे बृहत् छलफल गर्न प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले समय निर्धारण गरी आइतबारको बैठक स्थगित गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।