काठमाडौं– स्वेच्छिक अवकाशका लागि निवेदन दिने अवधि आइतबार सकिएको छ। करिब ५ हजार निजामती कर्मचारीले स्वेच्छिक अवकाश रोजेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
उपत्यकाको आइतबारसम्मको र उपत्यका बाहिरको शुक्रबारसम्मको तथ्याङकअनुसार ३ हजार ७ सय ४८ कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन्। उपत्यका बाहिरको आइतबारको सम्पूर्ण विवरण आइनपुगेकाले निवेदन दिनेको संख्या करिब ५ हजार पुग्नसक्ने सामान्य प्रशासन मन्त्तालयको स्वेच्छिक अवकाश इकाईका उपसचिव धर्मराज रोकायले बताए।
कर्मचारीहरुले सम्बन्धित कार्यलयमै स्वेच्छिक अवकाशका लागि आवेदन दिने प्रावधान छ। १९ गतेसम्म सामान्य प्रशासन मन्त्रालयमा सबै कार्यालयले विवरण पठाएपछि मात्र स्वेच्छिक अवकाशमा जाने कर्मचारीको वास्तविक तथ्याङ्क आउने मन्त्रालयले जनाएको छ।
अवकाश रोज्नेमा तीन सचिव समेत छन्। भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला तथा व्यवस्थापिका संसद सचिवालयका सचिवद्वय हिमनाथ सुवेदी र वीरेन्द्र कार्कीले स्वेच्छिक अवकाश रोजेका छन्।
सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीका लागि स्वेच्छिक अवकाश कार्यक्रम ल्याएको हो। तर, अवकाश कहिले टुंगिने र कसरी उनीहरुलाई रकम दिने प्रस्ट छैन। समायोजन नियमावली आइनसकेकाले यससम्बन्धी विषय अस्पष्ट छ। स्वेच्छिक अवकाश रोज्ने कर्मचारीले ७ वर्षको एकमुष्ठ तलब लगायत सुविधा पाउँछन्।
स्वेच्छिक अवकाशका लागि करिब २२ हजार कर्मचारीको मापदण्ड पुगे पनि अपेक्षा गरेभन्दा थोरैले मात्र अवकाश रोजेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।