म्याद थपका लागि पूर्वमन्त्री तथा व्यापारी रुप ज्योति बाबुछोरीलाई अदालत लगियो 

नेपाल लाइभ | २०७६ कार्तिक २२ शुक्रबार | Friday, November 08, 2019 १५:३०:०० मा प्रकाशित

काठमाडौं– हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचीलाई म्याद थपका लागि अदालत लगिएको छ। 

उनीहरु दुबैलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। 

महानगरीय प्रहरी परिसरको टोलीले ज्योति बाबुछोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।  

हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो। तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए। 

त्यसको करिब १ वर्षपछि सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ परेका हुन्। उनीमाथि म्याद थप गरेर ठगी कसुरमा प्रहरीले अनुसन्धान सुरु गर्ने तयारी गरेको छ। 

ज्योतिले व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका थिए। उक्त कम्पनी रुप ज्योतिको श्रीमती र छोरीको नाममा थियो। त्यसैका आधारमा छोरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।