काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको नेतासहित कार्य समिति चयन गर्न चीनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा श्रेष्ठसहित नवीन्द्रराज जोशी र भीष्मराज आङदेम्बे सदस्य रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
त्यस्तै कांग्रेसले दलको नेता चयनका लागि फागुन २१ गते बिहान निर्वाचन गर्ने तयारी गरेको छ। २० गते उम्मेदवारी मनोनयन र २१ गते बिहान दलको नेतासहित कार्यसमिति निर्वाचन गर्ने तयारी रहेको केन्द्रीय सदस्य मीन विश्वकर्माले नेपाल लाइभलाई बताए।
संसदको पहिलो बैठक फागुन २१ गते दिउँसो बोलाइएको छ। कांग्रेसभित्र दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह भिड्ने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।