बुटवल– मुलुकमा भरपर्दो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उभिने भन्दै ३ वर्षअघि गठन भएको नयाँ शक्ति पार्टी नेपालले आफ्नो नाम परिवर्तन गर्ने भएको छ।
लुम्बिनीमा बसेको संघीय परिषदको चौथो विस्तारित बैठकले आगामी एक वर्षभित्र महाधिवेशन गर्ने र उक्त महाधिवेशनबाट पार्टीको नाम समेत परिवर्तन गर्ने निर्णय गरेको नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले जानकारी दिए। पार्टीको नाम के राख्ने भन्नेबारे एक वर्षसम्म छलफल चलाइने उनले बताए।
भट्टराईले पार्टीको संगठनात्मक संरचनालाई वैज्ञानिक बनाउन कार्यकारी विज्ञ र संरक्षक परिषद् गरी समतलीय संरचना अनुमोदन गरेको जानकारी दिए। जस अन्तर्गत वैचारिक–राजनीतिक मार्गदर्शनसँगै संगठनात्मक शक्ति र संसदमा उपस्थिति दुवै हिसाबले शक्तिशाली तेस्रो ध्रुव बनाइने उल्लेख छ। यसैगरी भट्टराईलाई संघीय परिषद्को चौथो विस्तारित बैठकले सर्वसम्मतिले पुनः संयोजक पदमा चयन गरेको छ।
९९ सदस्यीय कार्यकारी समितिको संयोजकमा भट्टराईलाई पुनः सर्वसम्मत चयन भएका हुन्। यसैगरी, बैठकले दस्तावेज परिवर्तनका लागि डा भट्टराईको संयोजकत्वमा देवीप्रसाद ओझा, डम्बर खतिवडा, गंगानारायण श्रेष्ठ र कल्पना धमला सहितको पाँच सदस्यीय समिति गठन गरेको छ।
यसैगरी शनिबार नै बसेको महाधिवेशन आयोजक समिति तथा कार्यकारी समितिको बैठकले प्रदेश इन्चार्ज समेत परिवर्तन गरेको छ। जसमा प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिजन यादव, ३ मा गंगानारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाणामगर, ७ मा कृष्णकुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमी चयन गरेको छ।
संघीय परिषदको बिस्तारित बैठकले ‘भिजन ५ र मिसन ५’ नामक सांगठनिक पुनर्गठन प्रस्तावसमेत अनुमोदन गरेको छ।
त्यस्तै, महाधिवेशन आयोजक समितिको अभिन्न अंगका रुपमा केन्द्रीय कार्यकारी समितिसहित ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरेको नयाँ शक्तिले जनाएको छ।
.gif)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।