एजेन्सी- भारतको उडिसा राज्यमा भएको एक विवाह समारोहमा पार्सलमार्फत आएको उपहार खोल्न खोज्दा विस्फोट हुँदा बेहुला र उनकी हजुरआमाको निधन भएको छ।
बलांगिर जिल्लाको पाटनगढ सहरमा सो घटना भएको हो।
बैंगलोरमा सफ्टवेयर इन्जिनियरको काम गर्ने सौम्य शेखरको विवाह फेब्रुअरी १८ मा सोनपुरको घन्टापडाकी रिमासँग भएको थियो। उनले पाटनगढमा फेब्रुअरी २० मा रिसेप्सन पार्टीको आयोजना गरेका थिए। रिसेप्सनपछि उपहारका रुपमा प्राप्त पार्सल हेर्ने बेला त्यहाँभित्र राखिएको बम विस्फोट भएको थियो।
विस्फोटका कारण बेहुला र उनकी हजुरआमाको निधन भएको हो। बेहुली सीमा गम्भीर घाइते भइन्। उनको सम्बलपुरको बुर्ला मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरी अनुसन्धानमा उक्त पार्सल रायपुरबाट आएको पुष्टि भएको छ। एसपी शिवा सुब्रमनीका अनुसार क्षेत्रीय फरेन्सिक ल्याबमा विस्फोटक पदार्थको जाँच भइरहेको छ। प्रहरीका दुई स्पेशल टिम छत्तिसगढ र बैंगलोर पुगिसकेका छन्।
प्रहरीले कुरियर कम्पनीमार्फत छत्तिसगढमा अपराधीसम्म पुग्ने कोसिस गरिरहेको छ। बेहुला सौम्य शेखरले काम गर्ने ठाउँ बैंगलोरमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
घटनालाई लिएर स्थानीयवासी निकै आक्रोशित छन्। उनीहरले शनिबार बेहुलाको शव सडकमा राखेर धर्ना दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।