काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। केन्द्रीय समिति बैठकले कांग्रेस संसदीय दलको विधान २०७४ अनुमोदन गर्नेछ। पार्टीको विधान पारित गरेसँगै संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्नेछ।
संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवालाई अन्य नेताहरुले चुनौती दिने तयारी गरिरहेका छन्। महासचिव शशांक कोइराला, प्रकाशमान सिंह लगायत नेताहरुले देउवाको विकल्प खोजी हुनुपर्ने तर्क गर्दै आएका छन्।
कांग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले कांग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो।
फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि कांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको हो। आइतबारको बैठकले सम्भवत: संसदीय दलको नेताको निर्वाचनका लागि निर्वाचन समिति बनाउने र मिति तोक्नेछ।
कांग्रेसले संविधानको ढाँचाअनुसार संसदीय दलको पुरानो विधानलाई संशोधन गरी नयाँ विधान बनाएको हो। अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैलाई मिलाएर संघीय संसद् बनेको हुनाले त्यसअनुरुपको नयाँ विधान बनेपछि मात्रै संसदीय दलको निर्वाचन गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।