पहिलो इनिङमा एमसिसीले बनायो ३६४ रन, ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र डकआउट

नेपाल लाइभ | २०७६ कार्तिक २१ बिहीबार | Thursday, November 07, 2019 ११:०४:०० मा प्रकाशित

काठमाडौं- इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले नेपालसँगको प्रथम श्रेणी क्रिकेट अन्तर्गत तीन दिवसीय खेलको पहिलो इनिङमा ३ सय ६४ रन बनाएको छ। हिजो पहिलो दिनको खेल सकिँदा ६ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको एमसिसीले आज ४ विकेट गुमाएर ५३ रन जोडेको हो। 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन–तीन साथै सोमपाल कामी र शरद भेषावकरले दुई–दुई विकेट लिए। पहिलो दिन बलियो अवस्थामा रहेको एमसिसीलाई दोस्रो दिनको बिहानी शत्रमा नेपाली बलरहरुले दबाबमा राख्न सकेका थिए। 

नेपालका लागि ओपनिङ ब्याटिङमा कप्तान ज्ञानेन्द्र मल्ल र राजु रिजाल आएका छन्। ज्ञानेन्द्र डकआउट भएपछि राजुलाई क्रिजमा शरद भेषावकरले साथ दिइरहेका छन्। ज्ञानेन्द्र दोस्रो बलमा कभरमा रहेका फिल्डरमार्फत क्याच आउट भएका हुन्।
......

१४ वर्षपछि प्रथम श्रेणी क्रिकेटमा फर्किएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर फिल्डिङ रोजेको थियो।

नेपालले पहिलो दिनको खेल सकिँदा एमसिसीको ६ विकेट लिएको थियो। ८६ ओभरको खेल सकिँदा खराब प्रकाशका कारण अम्पायरले पहिलो दिनको खेल सकिएको घोषणा गरेका हुन्। 

एमसिसीका विल भ्यान्डर्सपरले ५३ रन बनाए। यस्तै एड योङले १५, माइल्स ह्यामन्डले ५२, टम वेस्ट्लीले ३९, विल रोड्सले ७३ र बिली गोल्डम्यानले १० रन बनाए। 

यसअघि नेपालले सन् २००५ मा युएईविरुद्ध प्रथम श्रेणी क्रिकेटमा प्रतिस्पर्धा गरेको थियो। त्यसबेला टोलीमा रहेका शरद भेषावकर मात्रै अहिले कीर्तिपुर मैदानमा एमसिसीसँग खेलिरहेको टोलीमा समावेश छन्। 

शरदबाहेक १० जना खेलाडीको एमसिसीविरुद्ध चलिरहेको खेल नै राष्ट्रिय टिमबाट प्रथम श्रेणीमा डेब्यू खेल हो। यसअघि नेपालले २००४ र २००५ मा खेलेका चार प्रथम श्रेणी खेलमा शरद टोलीमा थिए। जसमा ६ इनिङमा शरदले ३४ को एभरेजमा १ सय ७० रन बनाएका थिए। उनीभन्दा १ रनले अघि रहेका शक्ति गौचनलाई उछिन्ने अवसर अहिले एमसिसीसँगको खेलमा शरदसँग छ। 

नेपाली टोलीमा रहेका सोमपाल कामीसँग भने प्रथम श्रेणी क्रिकेटको अनुभव छ। उनले सन् २०१५–०१६ मा श्रीलंकामा क्लब क्रिकेट खेल्दा सारकेन्स स्पोर्टस क्लबबाट दुई प्रथम श्रेणी खेल खेलेका थिए। त्यसमा २६ ओभर बलिङ गरेका उनले ३ विकेट पनि लिएका थिए। एमसिसीसँग सोमबार भएको एकदिवसीय खेलमा टिमबाहिर रहेका उनलाई प्रथम श्रेणीमा समावेश गरिएको हो।

शरद र सोमपालसँगै टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, आरिफ शेख, पवन सर्राफ, बिनोद भण्डारी, करण केसी, ललित राजबंशी, राजु रिजाल र सन्दीप लामिछाने रहेका छन्। 

पूर्वकप्तान पारस खड्कासँग प्रथम श्रेणी क्रिकेटमा दुई खेलको अनुभव भए पनि उनी अहिले टोलीमा समावेश छैनन्। सोमबार एमसिसीविरुद्धको एकदिवसीय खेलमा पनि पारस टोलीमा थिएनन्।  

यसअघि २००९ मा एमसिसीसँगै नेपालले तीन दिवसीय खेल खेलेको भए पनि त्यसलाई प्रथम श्रेणीको मान्यता दिइएको थिएन।