बुटवल– नयाँ शक्ति पार्टी संघीय परिषद्को चौथो विस्तारित बैठक ‘लुम्बिनी–संकल्प २०७४’ जारी गर्दै सम्पन्न भएको छ। लुम्बिनीमा भएको बैठकले यस्ता ५ संकल्प लिएको छः
१. नेपाली जनताको सुख, समृद्धि र खुशी बाहेक हाम्रो अर्को कुनै राजनीतिक स्वार्थ छैन। राजनीति हाम्रा लागि मानवताको सेवा गर्ने माध्यम हो, पेशा–व्यवसाय होइन। सत्ता, शक्ति, पैसा, पद र व्यक्तिगत प्रतिष्ठाको छूद्र स्वार्थपूर्तिको माध्यम राजनीतिलाई कहिल्यै बनाउने छैनौं।
२. नयाँ शक्ति पार्टीका स्थापनाकालीन उद्देश्यहरु हामी कहिल्यै भुल्ने छैनौं। स्वाधीन, समावेशी, सुशासित, समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने लक्ष्य नै हाम्रो राजनीतिक जीवनको मुख्य लक्ष्य हुनेछ।
३. नेपाल समृद्धीकरणको नयाँ चरणमा प्रवेश गरेको छ। नयाँ शक्ति पार्टी, नेपाल समृद्धीकरणको नयाँ चरणको नेतृत्व गर्न बनेको पार्टी हो। नयाँ युगको नयाँ आवश्यकतालाई पूरा गर्न हामी आफैं ‘नव मानव’ बन्नेछौं। हाम्रो पार्टी नयाँ युगको नेतृत्व गर्ने नयाँ सोच, शैली, ढाँचाको पार्टी हुनेछ। यस्तो पार्टी निर्माण गर्न आवश्यक पर्ने जस्तोसुकै त्याग, योगदान र बलिदान गर्न सदैव तत्पर रहनेछौं।
४. हामी न कहिल्यै भ्रष्टाचार गर्नेछौं, न अरु कसैले गरेको भ्रष्टाचार सहनेछौं। हाम्रो सार्वजनिक पार्टीगत तथा व्यक्तिगत जीवन सधैं स्वच्छ, सदाचारयुक्त, नैतिक र पारदर्शी हुनेछ। गौतम बुद्धको ‘सम्यक जीविका’ उपदेशले हामीलाई सधैं अनुप्रेरित गर्नेछ। हामी सधैं उद्यमशील बन्ने प्रयत्न गर्नेछौं।
५. हाम्रो दृढ विश्वास छ कि, पुँजीवाद कि साम्यवाद भन्ने बिसौं शताब्दीको वैचारिक ध्रुवीकरणको चरण अन्त्य भैसकेको छ। ‘समावेसी तथा सहभागितामूलक लोकतन्त्र’ र ‘समुन्नत समाजवाद’मा आधारित तेस्रो वैचारिक–राजनीतिक ध्रुवको निर्माण नै यतिखेरको ‘सम्यक दृष्टि, सम्यक संकल्प’ हो। तसर्थ हामी ‘कांग्रेस’ वा ‘कम्युनिस्ट’ नामधारी परम्परावादी दलहरुले छर्ने कुनै भ्रममा पर्ने छैनौं। नयाँ युगको आवश्यकता पुराना शक्तिहरुबाट पूरा हुन सक्दैन भन्ने कुरामा हामी दृढ छौं। ती दुवै धारभन्दा अग्रगामी ‘वैकल्पिक राजनीतिक शक्ति’ निर्माण गर्न कुनै कसर बाँकी राख्ने छैनौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।