काठमाडौं– अर्थ र गृह मन्त्रालयमा कसलाई पठाउने भन्ने विवादले सरकार विस्तारमा प्रभाव पर्ने देखिएको छ। अर्थ मन्त्रालय नेकपा एमाले र गृह मन्त्रालय माअनेवादी केन्द्रको भागमा परेको छ।
अर्थ मन्त्रालयका लागि एमाले नेता प्रदीप ज्ञवाली, ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले दाबी गर्दै आएका छन् भने गृह मन्त्रालयका लागि माओवादीका रामबहादुर थापा बादल, जनार्दन शर्मा र वर्षमान पुनले दाबी गर्दै आएका छन्।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल दुवै मन्त्रालयमा एकअर्कालाई सहज हुने मन्त्री बनाउने पक्षमा छन्।
माओवादी अध्यक्ष दाहाल चितवनबाट प्रतिनिधिसभा सदस्यमा विजयी पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थ मन्त्री बनाउनुपर्ने पक्षमा छन् भने प्रधानमन्त्री ओली जनार्दन शर्मालाई गृहमन्त्री बनाउनुपर्ने पक्षमा देखिएको स्रोत बताउँछ।
स्रोतका अनुसार वर्षमान पुन श्रीमती ओनसरी घर्तीलाई सभामुखमा दोहार्याए आफूले गृहको दाबी छाड्ने अडानमा छन्।
माओवादी अध्यक्ष दाहालले आइतबार सरकार विस्तार हुने बताएका छन्। तर, गृह र अर्थमा कुरा नमिल्दा सरकार विस्तार सोमबारसम्म सर्न सक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।